काठमाडौं। लमजुङको मध्यनेपाल नगरपालिकाले पालिकाअन्तर्गतका सबै वडा कार्यालय पुग्ने सडक कालोपत्रे सुरु गरेको छ । १० वटा वडा रहेको सो नगरपालिकाले सबै वडा कार्यालय पुग्ने सडक कालोपत्रे सुरु गरेको हो ।
नगरपालिकाले चालु आर्थिक वर्षमा मात्रै पाँचवटा वडा कार्यालयसम्म पुग्ने सडक कालोपत्रे सुरु गरेको नगरप्रमुख रमेशकुमार पाण्डेले बताए।
नगरपालिकाअन्तर्गत सबै वडा कार्यालयमा यसअघि नै सडक सञ्जाल पुगिसकेको र नगरपालिका आफैले बजेट विनियोजन गरी उक्त सडकलाई कालोपत्रे सुरु गरिएको नगर प्रमुख पाण्डेको भनाइ छ ।
चालु आर्थिक वर्षमा बाँकी रहेका वडा कार्यालयसम्म पुग्ने सडकलाई आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरी प्रत्येक वडा कार्यालयसम्म पुग्ने सडकलाई कालोपत्रे गरिने नगरप्रमुख पाण्डेको भनाइ छ । नगरपालिका केन्द्रदेखि प्रत्येक वडा कार्यालय पुग्ने सडक कालोपत्रे सकिएपछि नगरपालिकाले प्रत्येक बस्तीदेखि वडा कार्यालय पुग्ने सडक कालोपत्रेलाई प्राथमिकतामा राख्ने जनाएको छ ।
सबै वडा कार्यालयमा सडक कालोपत्रे गर्ने अभियानअन्तर्गत नगरपालिकाले चालु आर्थिक वर्षमा भोर्लेटार–बाँग्रे सडक कालोपत्रे सम्पन्न गरिसकेको जनाएको छ । नगरपालिकाको आफ्नै लगानीमा भोर्लेटारको रानीपानीदेखि बेसी बाँग्रेसम्म चार किलोमिटर सडक कालोपत्रे गरेको हो । नगरपालिकाले अघिल्लो आर्थिक वर्षदेखि सडक स्तरोन्नति कार्य सुरु गरी चालु आर्थिक वर्षमा चार किलोमिटर सडक कालोपत्रे सम्पन्न गरेको नगरप्रवक्ता रामचन्द्र भण्डारीले बताए ।
नगरपालिकाले सबै वडा कार्यालय पुग्ने सडकअन्तर्गत यो आर्थिक वर्षमा करिब १३ किलोमिटर सडक कालोपत्रे सम्पन्न गर्ने लक्ष्य राखेको छ । हाल मध्यनेपाल–१ को वडा कार्यालय पुग्ने सडक पनि कालोपत्रे सुरु भइसकेको छ । यही वर्ष वडा नम्बर १ सहित वडा नम्बर २ अन्तर्गत सोतीपसलदेखि पाँडे गाउँ हुँदै वडा कार्यालयसम्म कालोपत्रे सुरु भएको नगरपालिकाले जनाएको छ ।
त्यसैगरी वडा नम्बर ३ अन्तर्गत सोतीपसलकै क्याम्पस चोकदेखि वडा कार्यालयसम्म कालोपत्रे सुरु भएको छ भने वडा नम्बर ४ अन्तर्गत दुईपिप्लेबाट समिभन्ज्याङतर्फ र वडा नम्बर ७ मा मादीपुलदेखि लक्ष्मीबजारसम्म कालोपत्रे सुरु भएको छ । सोबाहेक वडा नम्बर १० मा पनि स्वाँरादेखि वडा कार्यालयसम्मको सडक कालोपत्रे सम्पन्न चरणमा रहेको नगरपालिकाले जनाएको छ ।
चालु आर्थिक वर्षमा बाँकी रहेका वडा कार्यालयसम्म पुग्ने सडकलाई आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरी प्रत्येक वडा कार्यालयसम्म पुग्ने सडकलाई कालोपत्रे गरिने नगरप्रमुख पाण्डेले बताए । वडा कार्यालय पुग्ने सबै सडकलाई कालोपत्रे गर्नका लागि नगरपालिका आफैले बजेट विनियोजन गरेको हो ।
नगरपालिकाले वडा कार्यालय पुग्ने सडकबाहेक आफ्नै लगानीमा दुईपिप्ले सोतीपसल सडक खण्डअन्तर्गत चर्दी खोलामा मोटरेबल पुलसमेत निर्माण गरेको जनाएको छ । नगरपालिका केन्द्रदेखि प्रत्येक वडा कार्यालय पुग्ने सडक कालोपत्रे सकिएपछि नगरपालिकाले प्रत्येक बस्तीदेखि वडा कार्यालय पुग्ने सडक कालोपत्रेलाई प्राथमिकतामा राख्ने जनाएको छ ।
साना सडकबाहेक प्रदेश र संघ सरकारको सहयोगमा पालिकाभित्रका ठूला सडकलाई पनि स्तरोन्नति गर्ने योजना रहेको नगरपालिका प्रवक्ता रामचन्द्र भण्डारीले जानकारी दिए। कारोबार दैनिकबाट