काठमाडौं। जडिबुटी–कोटेश्वर–तीनकुने सडक निर्माणको समस्या समाधान गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पहल थालेका छन्। आइतबार मन्त्री ज्वालाले सडक विस्तार र मुआब्जासँग सम्बन्धित सरोकारवालाहरुसँग सिंहदरबारमा छलफल गरेका हुन्।
छलफलमा मन्त्री ज्वालाले भने, ‘कुनै पनि देशको अवस्था कस्तो भन्ने थाहा पाउन त्यो देशको सडक र यातायातलाई प्रमुख आधार बनाइन्छ, तर अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिंदै गर्दा जामका कारण हाम्रो सडक र यातायातको चित्र देखाउँछ। यो समस्या समाधान गर्न प्रधानमन्त्रीले पनि धेरै चासो देखाउनु भएको छ। अब रमिते भएर दैनिक लाखौं नागरिकको समस्या हेरिरहन सक्दैनौं।’
छलफलमा ज्वाला, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, प्रधानमन्त्री कार्यालयका सहसचिव बुद्धबहादुर गुरुङ, भूमि व्यवस्था मन्त्रालयका सहसचिव नरेन्द्र पौडेल, पूर्वाधार मन्त्रालयका सहसचिव रघुराम बिष्ट, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल, काठमाडौं महानगरपालिका वडा नं ३२ का वडाअध्यक्ष नवराज पराजुली सहभागी थिए।
त्यसैगरी काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, संघीय मामिला तथा सामन्य प्रशासन मन्त्रालयका उपसचिव जनकराज शर्मा, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र दातृ निकाय जाइकाका प्रतिनिधि श्रीराम ढकालको सहभागिता थियो।
जडिबुटी–कोटेश्वर–तीनकुने सडकखण्डको समस्या समाधान गर्न मन्त्री ज्वालाले सम्पर्क व्यक्ति नै तोकेका छन्। सडक विभागका उपमहानिर्देशक विजय जैसीलाई समन्वय व्यक्ति तोकेका छन्।