काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाँदैछन् । प्रधानमन्त्री प्रचण्ड ६ जना मन्त्री, मुख्यसचिव र ८ जना सचिवसहित १ सय जना भन्दा बढी सदस्य रहेको जम्बो टोली लिएर भारत भ्रमणमा जान लागेका हुन।
प्रधानमन्त्रीमा निर्वाचित भएको ५ महिना पछि दक्षिणी छिमेकी भारत भ्रमणमा जान लागेका उनी २१ गते मात्रै स्वदेश फर्कने छन् ।
भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा भारत जान लागेका प्रधानमन्त्री दाहालले समकक्षी मोदीसँग जेठ १८ गते बिहीबार दिल्लीस्थित हैदरावाद हाउसमा विहान ११ बजे दुई पक्षीय भेटवार्ता गर्दैछन्। सोही दिन भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, भारतीय विदेश मन्त्री एस जयशंकरलगायतसँग पनि भेटवार्ता हुनेछ ।
प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा गएको बेला तीन वटा परियोजनाको शिलान्यास हुने भएको छ । त्यस्तै, एउटा परियोजनाको उद्घाटनसमेत हुने बताइएको छ ।
भारतको सिलिगुडीदेखि झापा सम्मको पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजनाको शिलान्यास भारतबाटै दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
पूर्वी नेपालमा पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न पश्चिम बङ्गालको सिलिगुडीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन बिछ्याउने सम्झौता यसअघि नै भइसकेको थियो ।
बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने परियोजनाको समेत शिलान्यास गर्ने तयारी रहेको छ । त्यसैगरी, झापा बोर्डरमा एकीकृत जाँच चौकीको पनि शिलान्यास गरिने तयारी भइरहेको बताइएको छ ।
नेपालगञ्जमा निर्माण भएको एकीकृत भन्सार जाँच चौकीको उद्घाटन पनि त्यहीबाट संयुक्त रुपमा गर्ने तयारी भइरहेको छ । दोधारा चाँदनीमा सुख्खा बन्दरगाहको निर्माण हुनेछ । यस विषयमा भ्रमणको क्रममा त्यसका लागि भारतसँग सम्झौता हुने बताइएको छ ।