ताप्लेजुङ। पाँचथर र ताप्लेजुङका विकट क्षेत्रमा विगत आठ महिनाको अवधिमा १५ वटा झोलुङ्गे पुल निर्माण भएका छन्। गत असोजदेखि निर्माण थालिएका १५ वटा नयाँ झोलुङ्गे पुल निर्माण भएको हो।
कोशी प्रदेश सरकारको आर्थिक सहयोग तथा पूर्वाधार विकास कार्यालय पाँचथरले स्थानीय उपभोक्ता समितिसँगको सहकार्यमा पुल निर्माण गरेको छ।
चालु आर्थिक वर्षमा बनाइ सक्ने लक्ष्यसाथ निर्माण थालिएका पुलहरु आठ महिनामा निर्माण भएका हुन् । निर्माण सम्पन्न पुल पूर्णरुपमा सञ्चालनमा आइसकेको पूवार्धार विकास कार्यालय पाँचथरले जनाएको छ।
नयाँ पुल पाँचथरमा १० र ताप्लेजुङमा ५ वटा निर्माण भएको छ। पाँचथरको फिदिम नगरपालिकामा भर्याङ खोला, चुनेदोभान र याङवरक गाउँपालिकाको शिवा खोलामा नयाँ पुल बनाइएको हो । त्यसैगरी फालेलुङ गापामा गुप्तेश्वर–पानामा–खरबारी, सिरिसे सिल्लि पाखा–खोलाघारी, गोवाटार च्याने, बज्राठे थरीटारमा बनेका छन् ।
दक्षिणी मिक्लाजुङ गापाको नावाखोला–थामथुम दोभान, कुरुङखोला–जामुनबोटे–अविरजङ्ग जग्गा जोड्ने र लप्सिबोटे–नरकटेमा पनि निर्माण गरिएको छ । ताप्लेजुङ अन्तर्गत फूङ्लिङ नपाका ओठे थवाङ र निकाश खोलामा नयाँ पुल थपिइएको छ । जिल्लाको मेरिङ्देन गापाको ओगेन–साईजिम जोड्ने र फक्तालुङ गापाको हेल्लोक र मेन्देवा खोलामा पनि बनाइएको छ ।
नयाँ बनेका पुलबाट पाँचथर, ताप्लेजुङका विकट हजारौ ग्रामीणवासी प्रत्यक्ष लाभान्वित हुने भएका छन् । नयाँ पुल बनेपछि आफूहरुले राहत पाएको ताप्लेजुङका हेल्लोक खोला झोलुङ्गे पुल निर्माण समिति अध्यक्ष उत्तरमान लिम्बूले बताए। पन्ध्र वटा पुल निर्माणका लागि आठ करोड ५२ लाख ७९ रुपियाँ लागत लागेको पूर्वाधार विकास कार्यालय पाँचथरले जनाएको छ । गोरखापत्रबाट