काठमाडौं। धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सरकारले सहयोग गर्ने अपेक्षा गरेको छ। १६ करोड ५७ लाख रुपैयाँ बक्यौता रहेको फाउन्डेसनलाई सरकारले सहयोग गर्ने र काम पुनः सुरु हुने फाउन्डेसनको विश्वास रहेको छ। बजेट अभावमा गएको साउन १५ गतेदेखि संरचना निर्माणको काम रोकिएको छ। सहयोगका लागि अभियन्ता सिताराम कट्टेल (धुमर्स)ले संघीय सरकारसँग अपिल गरिरहेका छन्। युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजसँगै सीतारामले अर्थमन्त्रीसँग पनि गत बुधबार भेट गरेका छन्। भेटमा मन्त्री शर्माले रंगशाला निर्माणका लागि सहयोग गर्न आफू सकारात्मक रहेको बताएका थिए।
खेलकुदमन्त्रीको उपस्थितिमा बुधबार अर्थमन्त्रीसँग भएको छलपलमा उनले सहयोगको प्रतिबद्धता पुनः दोहोर्याउँदै खेलकुदमन्त्रीलाई कसरी सहयोग गर्न सकिन्छ, त्यसतर्फ काम अगाडि बढाउन निर्देशन दिएका छन्। खेलकुदमन्त्रीले नियुक्त भएदेखि नै रंगशालाको निर्माण सकेसम्म कसरी चाँडो गर्न सकिन्छ र यसलाई कसरी सहयोग गर्न सकिन्छ भन्नेमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। त्यस्तै गठबन्धन सरकार बनेपछि पनि सितारामले निरन्तर संघीय सरकारसँग पहल गरिरहेका छन्। खेलकुदमन्त्रीले निर्माणमा देखाएको चासोका कारण पनि आफू सरकारले सहयोग गर्नेमा आशावादी रहेको उनले जनाएका छन्। बक्यौता रकम तिर्न नसक्दा रंगशाला निर्माणको काम करिब चार महिनादेखि ठप्प रहेको छ। सो रङगशालामा १५ जना कर्मचारी हाल पनि कार्यरत रहेका छन्। संरचना निर्माणको सबै काम ठप्प रहे पनि मैदानको दुबोको गोडमेलको काम भने हाल भइरहेको छ।
करिब १७ करोड रुपैयाँ बक्यौता रहेको र सहयोगको प्रतिबद्धता जनाएका व्यक्ति तथा संस्थाले रकम उपलब्ध नगराउँदा काम बन्द हुन पुगेको थियो। महायज्ञबाट मात्रै रंगशाला निर्माणका लागि ६९ करोड रुपैयाँ सहयोगको प्रतिबद्धता आएको थियो। महायज्ञमा प्रतिबद्धता जनाइएको रकम मात्रै प्राप्त भएको भए पनि हाल काम रोक्नुपर्ने अवस्था नआउने साथै १७ करोड बक्यौता तिरेर हाल बाँकी काम भइरहेको हुने कट्टेलको भनाइ रहेको छ।, कोरोना संक्रमणको त्रासका कारण देशमा लकडाउन हुँदा पनि स्वास्थ्य प्रोटोकल अपनाएर काम गरिरहेका उनले बताएका छन।् तर, अहिले आएर आर्थिक अभावकै कारण काम रोक्नुपरेको हो।
तत्कालीन सरकार र दलीय प्रतिनिधिको उपपस्थितिमा सुरु गरिएको रंगशाला निर्माणमा सरकार उदासीन देखिएकोप्रति उनको गुनासो रहेको छ। निर्माण सम्पन्न भएपछि अन्ततः रंगशाला सरकारकै भएका कारण हाल सरकारले निर्धक्क भएर सहयोग गर्नुपर्ने उनको धारणा रहेको छ। नेपालको खेलजगत्को उन्नयनका लागि भनेर रंगशाला निर्माण सुरु गरेको साथै मैदानमा पिच बनाउने हो भने यही हिउँदबाट नै जुनसुकै अन्तर्राष्ट्रियस्तरका खेल खेलाउन सकिने उनले बताएका छन्। यति ठूलो रंगशाला बन्नु सरकारकै लागि गौरवको विषय हो। यति निर्माण भइसकेको रंगशाला निर्माण भएर बीचमै अलपत्र बन्यो भने सरकारले विकास निर्माण चाहँदैन भन्ने नराम्रो सन्देश पनि जान सक्ने भएका कारणले यसमा पनि सरकार सचेत हुनुपर्ने उनको भनाइ छ।
आफूले स्थानीय सरकारदेखि संघीय सरकारसम्म प्रत्येकलाई रंगशाला निर्माणमा सहयोग गर्दै स्वामित्त्व ग्रहण गरिदिन आग्रह गरे पनि सहयोग नपाएको उनको गुनासो छ। देश तथा विदेशमा रहनुभएका ४० हजारभन्दा धेरै नेपालीले सहयोग गरिसकेका सो परियोजनामा संघीय सरकारले हालसम्म पनि सहयोग नगरेको उनले जानकारी दिएका छन्। तर पनि अझै हार नमानेको र आफु सरकारले सहयोग गर्छ भन्ने आशामा रहेको उनले बताएका छन्। प्राविधिक रूपमा आफुहरु कमजोर नभएको साथै लेखापरीक्षण प्रतिवेदन र भौतिक प्रगति प्रतिवेदन सम्बन्धित निकायमा बुझाइरहेका हुनाले सरकारले सहयोग नगरी रंगशाला निर्माण सम्पन्न नहुने उनको भनाइ छ। राज्यले सहयोग गरेको अवस्थामा रंगशाला ६ महिनादेखि एक वर्षभित्रमा निर्माण सम्पन्न हुने उनको दाबी छ।
राष्ट्रिय खेदकुद परिषद्, क्रिकेट संघ, खेलकुद मन्त्रालय, अर्थ मन्त्रालयलाई फाउन्डेसनले पटक–पटक सहयोगका लागि मौखिक र लिखित रूपमा आग्रह गर्दै आएको छ। तीनवटै तहका सरकारलाई बन्द रहेको रंगशाला निर्माणकार्य सुरु गर्नका लागि आर्थिक सहयोग गरिदिन आग्रह गरेको स्मरण गर्दैै स्थानीय, प्रदेश र संघीय सरकारलाई मात्रै होइन, ७५३ वटै पालिकामा पत्राचार गरिसकेका उनले जानकारी गराएका छन्। ठूलो रकम सहयोग गरिरहेका प्रवासी नेपाली कोभिड–१९ का कारण आफैँ अप्ठ्यारोमा परेपछि सहयोग आउने क्रम कम भएकाले रंगशालाको ऋण थपिने क्रम बढ्दै गएको थियो। सहयोग जुटाउन उद्देश्यले मेची–महाकाली अभियान समेत चलाएको उनले जनाए।
रंगशालाको जम्मा क्षेत्रफल १७ हजार ६६२.५ स्क्वायर मिटर रहेको छ। यसमध्ये साढे दुई कट्ठा पिचको क्षेत्रफल रहनेछ भने आउटफिल्डमा दुबो लगाइएको छ। जसको गोडमेल भने अरू काम रोकिँदा पनि हाल भइरहेको छ। हालसम्म ३० हजार दर्शक क्षमताको रंगशालामा तीन हजार दर्शक क्षमताको प्यारापिट निर्माण भइसकेको छ। यो फस्ट प्यारापिट हो। यसमाथिको अर्को प्यारापिट बनाउन ठूलो परिमाणमा रड, सिमेन्ट र जनशक्ति चाहिने र त्यसका लागि आवश्यक बजेट अभाव हुँदा निर्माणकार्य अगाडि बढ्न नसकेको हो।
उनका अनुसार करिब ५० करोड रुपैयाँ भए अब संरचना निर्माणको काम सकिन्छ। यो रकम सरकारले सहयोग नगरेसम्म जुट्न सम्भव नभएको र हालसम्म ५४ करोडभन्दा धेरै रकम खर्च भइसकेको छ। डीपीआरअनुसार तीन अर्ब ५५ करोड रुपैयाँ रंगशालाको लागत मूल्य हो। तर, हालको भौतिक प्रगतिअनुसार साढे दुई अर्ब रुपैयाँमा रंगशाला निर्माण सम्पन्न हुने फाउन्डेसनको अनुमान रहेको छ। निर्माणको समय लम्बिएको अवस्थामा भने बजार भाउ बढ्ने हुँदा लगानी पनि बढ्न सक्ने फाउन्डेसनले बताएको छ। अहिलेसम्म रंगशालाको ३५ प्रतिशत निर्माणकार्य सम्पन्न भएको छ।