सिन्धुपाल्चोक। भूकम्प र पराकम्पनले ध्वस्त तुल्याएका जिल्लाभरका दुर्गम भेगका स्वास्थ्य चौकी भवनको निर्माणकार्य आठ वर्षपछि धमाधम सम्पन्न हुन थालेका छन् ।
जिल्लाको दुर्गम भेगमा गनिने त्रिपुरासुन्दरी गाउँपालिकाको शिरभेग वडा १ घोर्थलीमा सघन सहरी तथा भवन निर्माण आयोजनाले एक करोड ४४ लाख बर्थिङसहित स्वास्थ्य चौकी निर्माण गरेको छ ।
दुर्गम घोर्थली माथिल्लो टोलकी ७६ वर्षीया फुलडोमा लामाको अनुहार बल्ल उज्यालिएको छ । गाउँमै स्वास्थ्य चौकी बनेपछि उपचार पाउन घण्टौं हिँड्नुपर्ने उनको बाध्यता बल्ल हटेको छ । ‘अब त गाउँमै उपचार र औषधि पाइने भयो, वर्षौंदेखिको इच्छा बल्ल पूरा बनेको छ,’ उनले उत्साह पोखिन् । भवन ठडिएर स्वास्थ्य सेवा सुरु भएलगत्तै उद्घाटनमा आएका मन्त्रीसहितका जनप्रतिनिधिका टोलीलाई गाउँलेले स्वागत गरे ।
त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहोराका अनुसार बिहीबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले घोर्थली स्वास्थ्यचौकी उद्घाटन गरेका हुन् । ‘गाउँपालिकाभरका प्रत्येका वडामध्ये अधिकांशमा ठाउँमा स्वास्थ्यचौकी निर्माण भइसकेका छन् । केहीमा बर्थिङ छैनन्, थप्दैछौं,’ दुई वडामा स्वास्थ्यचौकी पनि क्रमशः निर्माणको चरणमा छ,’ अध्यक्ष बोहोराले भने ।
भूकम्पले जिल्लाभर रहेका ७३ स्वास्थ्यचौकी र नौ सामुदायिक इकाई भवन ध्वस्त बनाएको थियो । भूकम्प गएको आठ वर्षपछि स्थानीय तहबाट सहजीकरण भएपछि जिल्लाभरका स्वास्थ्य चौकी पुनर्निर्माणले तिव्रता पाएको छ । भूकम्पपछिको पुनर्निर्माणमा सुगमभन्दा दुर्गम गाउँमा सुविधाजनक स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाई भवन बनेका छन् । जिल्लाभर झन्डै ७० वटा स्वास्थ्य चौकीको भवन बनिसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
बिहीबार त्रिपुरासुन्दरी गाउँपालिका १ घोर्थलीस्थित घोर्थली स्वास्थ्य चौकी उदघाट्न गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले देशभर स्वास्थ्य सेवालाई जनतामैत्री बनाउने बताएका छन् । उनले स्वास्थ्य क्षेत्रमा भएका समस्या समाधान गर्न लागिपर्ने प्रतिबद्धता पनि दिए । ‘देशभरका स्वास्थ्य सेवा जनतामैत्री बनाउनेछौं, जनताकै इच्छाअनुसार हाम्रो लक्ष्य बन्नेछ । स्वास्थ्य संस्थाको स्तरोन्नति नहुँदा स्थानीयलाई समस्या भएको छ, त्यसका लागि हामी लाग्नेछौं,’ मन्त्री बस्नेतले भने । कान्तिपुरबाट