लुम्बिनी। लुम्बिनी क्षेत्रको विकासका लागि स्थानीय तह सरकारहरुले सहकार्य गर्ने भएका छन्। बृहत लुम्बिनी क्षेत्रमा बुद्धस्थलहरुको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा सहकार्य गर्ने गरी भएको छलफलमा सहकार्य गर्ने प्रतिवद्धता जनाएका हुन्।
लुम्बिनी विकास कोषले आइतबार आगामी आर्थिक वर्ष २०८०–८१ को नीति कार्यक्रममा सहकार्यका विषयमा बृहत लुम्बिनी क्षेत्रका स्थानीय तहसँग छलफल गरेको हो। बुद्ध जन्मस्थल लुम्बिनीको विकाससँगै बुद्धको गृहनगर तिलौराकोट, अस्तुधातु रहेको रामग्राम र मावली देवदहका पुरातात्विक क्षेत्रको संरक्षण, उत्खनन र प्रवद्र्धनमा सहकार्य गर्ने उद्देश्यले छलफल कार्यक्रम गरिएको कोषले जनाएको छ।
आगामी आर्थिक वर्षको बजेट निर्माणको पूर्वसन्ध्यामा पुरातात्विक क्षेत्रको उत्खनन, संरक्षण र प्रवद्र्धनमा उपलब्धीमुलक काम गर्न छलफल फलदायी हुने विश्वास गरिएको छ।
रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले रामग्रामको संरक्षण हुन नसकेको भन्दै आफूहरु त्यहाँको विकासका लागि सहकार्य गर्न तयार रहेको बताए । सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इस्तियाक मोहम्द खाँले लुम्बिनी आउने पर्यटकलाई कम्तीमा ३ दिन बस्ने वातावरण बनाउनुपर्ने बताए।
सैनामैना नगरपालिकाका नगरप्रमुख फणिन्द्र शर्माले सैनामैना पनि बुद्धसँग सम्बन्धित क्षेत्र भएको दावी गर्दै त्यहाँका पुरातात्विक क्षेत्रहरुमा उत्खननका लागि सहकार्य गर्न तयार रहेको बताए ।
छलफलमा लुम्बिनी साँस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजन, सैनामैना नगरपालिकाका उपप्रमुख विना राना, सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारी, लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई, कपिलबस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत हरिप्रसाद ज्ञवाली, देवदह नगरपालिकाका अधिकृत गंगाप्रसाद पन्थीको सहभागिता थियो ।