काठमाडौं। धादिङको नीलकण्ठ नगरपालिका–३ र १२ जोड्ने थोपल खोलामाथि निर्माणाधीन मोटरेबल पुल ढलान गर्न बनाएको संरचनाले खोला थुनिने जोखिम बढेकाले स्थानीय त्रसित बनेका छन् ।
जिल्ला र पालिका सदरमुकाम धादिङबेसीस्थित दूरसञ्चार चोकबाट गणेश मन्दिर हुँदै साङ्कोस जोड्ने पुल ढलान गर्न चैत महिनामै फर्मा तथा संरचना तयार गरे पनि जेठ १५ सम्म ढलान नगरेपछि स्थानीय जोखिममा पर्ने डरले त्रसित भएका छन् । पाँच वर्षअघि मोटरेबल पुल निर्माण सुरु हुँदा खुसीले गदगद भएका स्थानीयलाई पुल ढिलो गरी निर्माण गरेकोमा भन्दा पनि पुल ढलान गर्न तयार पारिएका संरचनाले खोला थुनिएर खोला बस्तीमा पस्ने हो कि भन्ने डरले अल्तालिएका छन् ।
स्थानीयको एउटै स्वर छ पुल ढलान गर्न नसक्ने भएर ढलान गर्न बनाएको फर्मा तथा संरचना खोलेर खोला स्वतन्त्र रूपमा बगाउनु पर्ने माग गरेका छन् । पुल ढलान गर्न फर्मा बनाउँदा खोलामा ह्युमपाइप बिछ्याई पानी कटाएको छ । बर्खाको पानी ह्युमपाइपमा नअट्ने हुँदा खोला थुनिन गई बस्तीमा पस्ने सम्भावना बढी रहेको स्थानीय बताउँछन् । सार्वजनिक खरिद ऐन २०६४ को दफा १२ अनुसार तेस्रो थप गरिदिएको म्याद गत २०७९ चैत महिना सकिएको छ ।
बागमती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत प्रादेशिक सडक कार्यालय धादिङले चौथो पटक म्याद नथप्ने संकेत पाएका ज्योति सफल निर्माण सेवाका श्याम बुढाथोकीले जसरी पनि असारअघि काम सक्ने बताउँछन् । तर उनको यो कुरा प्रादेशिक सडक कार्यालयले पत्याएको छैन । फागुनमा गर्नुपर्ने ढलान जेठको मध्यसम्म पनि ढलान नगरेकाले कसरी पत्याउन सकिन्छ । ढलानै गरिहाले पनि जोखिम हट्ने सम्भावना कम छ ।
गत हप्ता परेको पानीले ह्युमपाइपमाथि एक मिटर पानी चढ्यो । बर्खा आइसक्यो भन्छन् प्रादेशिक सडक कार्यालय धादिङका इन्जिनियर सागर भण्डारी चार करोड ८२ लाख रुपैयाँमा निर्माणको संयुक्त रूपमा जिम्मा लिएको ज्योति सफल निर्माण सेवाले पुल निर्माण कार्य समयमा नगर्दा स्थानीय, विद्यार्थी, दैनिक कृषि उपजका सामान बिक्री वितरण गर्नेदेखि आवातजावत गर्ने प्रभावित भएका छन् ।
पुल ढलान भए पनि फर्मा र संरचना नहटाउँदै बाढी आयो भने गणेशमार्ग उत्तरका बस्तीसहित नेकपा एमालेको पार्टी कार्यालय रहेको मदन आश्रित भवनसहित बसपार्क जोखिममा पर्नेछ । निर्माणाधीन पुलको करिब पाँच सय मिटर तल धादिङबेसी तिप्लिङ सडक पनि धेरै वर्ष पहिलेदेखि थोपल खोलामा कलर्भटबाट सञ्चालनमा छ । निर्माणाधीन पुुलको फर्मासहितको संरचना बगरे धादिङबेसी तिप्लिङ सडकको कलर्भट थुनिने छ र बसपार्कसहितका बस्ती जोखिममा पर्नेछ ।
आफूले धेरै छिटो काम सक्ने थिएँ । तर प्रादेशिक कार्यालय धादिङका तत्कालीन प्रमुख इन्जिनियर मदन आलेले रनिङ बिल स्वीकृत नगर्ने, बनाएका काम पनि भत्काइ दिने गरेकाले काम ढिलो भएको निर्माण व्यवसायी बुढाथोकीले बताए । अहिलेका प्रमुख इन्जिनियर निरज दहालबाट पर्याप्त सहयोग पाएको छु । असारभित्र काम सक्ने गरी काम गरिरहेको बुढाथोकीले बताए ।
पुल ढलान गरेर फर्मा खोलुन् जेठसम्म पानी नपरे जोखिम रहेन । तर जोखिम हटेको छैन । अब फटाफट काम भए पनि १० दिन ढलान सक्न लाग्छ । ढलान सेट भएर फर्मा खोल्न तीन हप्ता लाग्छ । यी सबै काम सक्न चार हप्ता अर्थात् २८ दिन लाग्छ । २८ दिनसम्म पानी नपर्ला भन्न सकिँदैन । जोखिम स्थानीय र निर्माण व्यवसायी दुवैलाई रहेको इन्जिनियर भण्डारीले बताए । कारोबार दैनिकबाट