काठमाडौं। शारदा नगरपालिका ६ मधमकाँडाकी ४५ वर्षीया जयकली बुढाथोकीले टाकुरा मधमकाँडा लिफ्ट खानेपानी योजना सम्पन्न भएसँगै घरघरमा पानी आउने आशामा ६ महिनाअघि नै घरमा धारा जडान गरेकी थिइन्।
दसैंअघि नै नगरपालिकाले घरघरमा पानी वितरण गर्ने भनेपछि स्थानीय २५ वर्षीया लक्ष्मी बुढाथोकीले पनि भदौअघि नै घरछेउमा धारा जडान गरिन्। तर धारामा पानी कहिले आउँछ भन्ने यकिन नहुँदा उनी निराश छिन्। करिब एक घन्टा हिँडेर बस्तीभन्दा तल खोल्सामा धाउने उनको दैनिकी उस्तै छ। जयकली र लक्ष्मी जस्तै गाउँका अधिकांश स्थानीयले पानी आउने आशामा धारा जडान गरेका छन्।
शारदा नगरपालिकाले टाकुरा, मधमकाँडा लगायत आसपासका स्थानीयलाई पानी उपलब्ध गराउन २०७६/०७७ मा गरी झन्डै एक करोड बजेट बिनियोजन गरेर ठेक्का मार्फत् लिफ्ट खानेपानी योजनाको काम सम्पन्न गरिसकेको छ। सोही योजना अन्तर्गत स्थानीयले घरघरमा धारा जडान गरेका छन्।
तर धारा जडान गरेको महिनौँसम्म पनि पानी नआउँदा टाकुरा, मधमकाँडा र आसपासका ३ सय परिवार प्रभावित स्थानीयहरू निराश देखिएका छन्। तर पछिल्लो समय उनीहरूले वर्षौँदेखि नियमित रुपमा ल्याउने गरेको खोल्सामा पनि पर्याप्त पानी नभएको स्थानीयहरू बताउँछन्। ४० वर्षदेखि नै पानीको अभाव झेल्दैआएका यस क्षेत्रका बासिन्दाहरू पानी अभावकै कारण तरकारी फलाउन र वस्तुभाउ पाल्नसमेत मुस्किल भएको बताउँछन्।
गत वर्ष ट्यांकीमा पानी पुगेसँगै पहिलो चरणको काम सकिएको थियो। शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारीले पहिलो चरणको काम सकिएपछि धारा खोलेर योजना उद्घाटन गर्दा नै स्थानीयहरू धेरै खुसी देखिन्थे। दसैंअघि नै पानी आउने भन्नुभएको थियो। तर अहिलेसम्म कुनै तयारी नहुँदा अन्योल बढेको स्थानीयको गुनासो रहेको छ।
शारदा नगरपालिका सल्यानका ईन्जिनियर भरत बुढाथोकीले भने झन्डै एक करोडको बजेटमा संचालन गरिएको टाकुरा–मधमकाँडा लिफ्ट खानेपानी योजना सम्पन्न भइसकेको र अबको केही महिनामै बस्तीका घरघरमा पानी पुर्याउने तयारी भएको बताएका छन्। आसपासका बस्तीमा पनि पानी पठाउने तयारीका कारण केही ढिला भएको उनले बताए।