काठमाडौं। बाराको कलैया–मानमत–मटिअर्वा सडक खण्डको निर्माण सम्पन्न नहुँदै ठेकेदार सम्पर्कविहीन भएपछि हुलाकी सडक आयोजना कार्यालय वीरगन्जले सडक निर्माण सम्झौता तोड्ने तयारी गरेको छ ।
हुलाकी सडक आयोजना कार्यालयअन्तर्गत पर्ने मानमत–मटिअर्वा सडकको निर्माण अलपत्र पारेर ठेकेदार बेपत्ता भएको छ ।२०७८ साल माघ २७ गते निर्माण सुरु गरेर ०७९ साल माघ १ गते सम्पन्न गर्ने गरी सप्तकोशी–जलाधार निर्माण जेभीले सम्झौता गरेको थियो । ठेक्का सकार गरेर निर्माण सुरु गरेको ठेकेदार कम्पनीले निर्माण सम्पन्न नै नगरी सम्पर्कविहीन भएको छ ।
ठेक्का लिएको सप्तकोशी केही दिनअघि सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको कम्पनीका सञ्चालक भावेस बोहोरा हुन् । उनको सप्तकोशी जलाधार कम्पनी प्रालि नागरिक उड्डयन प्राधिकरण कार्यालय काठमाडौं र यातायात पूर्वाधार निर्देशनालय हेटौंडाले गरेको सिफारिसको आधारमा कालोसूचीमा परेको कम्पनी हो ।
उनै भावेस बोहोराको सप्तकोशी जलाधार कम्पनी प्रालिले कलैया–मानमत–मटिअर्वा सडक निर्माणको ठेक्का लिएको हो । तर, अहिलेसम्म ठेकेदार सम्पर्कमा आएका छैनन् । कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साहले सडक निर्माण गरिदिन पटकपटक आग्रह गर्दा समेत ठेकेदारले अटेर गरेपछि नगर प्रमुखले प्रहरीलाई गुहार्नु परेको छ ।
ठेकेदार कम्पनीका इन्जिनियर सुशील यादवलाई आग्रह गर्दा नमानेपछि नगर प्रमुखको अनुरोधमा जिल्ला प्रहरी कार्यालय बाराले कम्पनीका इन्जिनियर सुशील यादवलाई पक्राउ गरेको छ । उनलाई पक्राउ गरेर अभद्र व्यवहारको मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।
सडक अलपत्र पारेपछि हुलाकी सडक आयोजना कार्यालय वीरगन्जले पनि ठेकेदारलाई तोकता गरेको थियो । तर, अहिलेसम्म आयोजना कार्यालयमा समेत ठेकेदार सम्पर्कमा नआएको कार्यालयका प्रमुख ध्रुव झाले बताए । ठेकेदारलाई पटकपटक सम्पर्क गर्दासमेत सम्पर्कमा नआएपछि अब मानमत–मटिअर्वा सडक निर्माणको ठेक्का सम्झौता तोड्ने हुलाकी सडक आयोजना कार्यालय वीरगन्जले तयारी गरेको आयोजना प्रमुख झाले जानकारी दिए ।
प्रमुख झाले भने, “६।७ महिना अगाडि नै हामीले सडक विभागमा मौखिक र लिखित रुपमा उजुरी गरिसकेका छौं । यहाँबाट पनि ठेकेदार कम्पनीलाई सम्पर्कमा आउन पटक पटक आग्रह गरेका छौं । तर, ठेकेदार सम्पर्कविहीन छ । अब ठेकेदारलाई कालोसूचीमा राखेर ठेक्का तोड्ने प्रकृयामा लागेका छौं । यो हप्ताभित्रमा ठेक्का सम्झौता रद्द गरेर नयाँ ठेक्का लगाउछौं ।” कारोबार दैनिकबाट