तस्बिर: नयाँ पत्रिका
काठमाडौं। मारुती सिमेन्टले सिन्धुलीको दुधौली नगरपालिका– १४ ककुरठाकुरमा वन क्षेत्र अतिक्रमण गरेर चुनढुंगा उत्खनन गर्दा खानीआसपासका ३० घरपरिवार समेत विस्थापित भएका छन् । अन्य ११ परिवार पनि उठीवास लाग्ने अवस्थामा पुगेका छन् । दैनिक चार सयभन्दा धेरै एक्स्काभेटर र डोजर लगाएर डाँडा भत्काउँदै गएपछि स्थानीय विस्थापित भएका हुन् ।
सिन्धुली र उदयपुरको सिमाना भएर बग्ने ककुरखोलाको उद्गमस्थलमा भएको उत्खननका कारण बर्खामा बाढी–पहिरो गएर हरेक वर्ष करिब १० बिघा जमिन बगरमा परिणत हुन्छ । उब्जनी गर्ने जमिन बगर बन्ने र घर पहिरोमा बग्ने डरका कारण स्थानीय थातथलो छाड्न बाध्य भएका छन् ।
स्थानीयलाई समस्यामा परेपछि मारुती सिमेन्टले उनीहरूलाई अलिअलि मुआब्जा दिएर त्यस ठाउँबाट उठाउने गरेको छ । आफू जनप्रतिनिधि हुनुअघि ३० घर विस्थापित भएको र जनप्रतिनिधि बनेपछि ११ परिवारले त्यहाँ बसोवास गर्न नसक्ने अवस्था भएको भन्दै घरजमिन उद्योगलाई खरिद गराइदिन आग्रह गर्दै वडा कार्यालयमा निवेदन गरेको दुधौली– १४ का वडाध्यक्ष भैरबहादुर पुलामी मगरले बताए ।
सिराहामा कारखाना रहेको मारुती सिमेन्टले कच्चा पदार्थ सिन्धुलीबाट लैजाने गरेको छ । विगत ३० वर्षदेखि उत्खनन गर्दै आएकोमा कारखानाले सिमेन्ट उत्पादन भने दुई वर्षअघिदेखि सुरु गरेको हो । सुरुमा मानिस लगाएर उत्खनन गर्ने कम्पनीले अहिले अत्याधुनिक साधन प्रयोग गरेर चुनढुंगा निकाल्दै आएको वडाध्यक्ष मगरले बताए । वर्षमा करिब पाँच महिना कच्चा पदार्थ उत्खनन गरी उदयपुरको कटारी नगरपालिका– २ हडैयामा स्टोर गर्ने र आवश्यकताअनुसार कारखानामा पुर्याउँछ ।
मारुती सिमेन्ट उद्योगले तत्कालीन ककुरठाकुर गाविसमा सात हेक्टर क्षेत्रफल मात्रै उत्खनन गर्ने अनुमति पाएको थियो । तर, हाल उद्योगले अनुमति पाएको बाहेक कयौं गुणा धेरै उत्खनन गरिरहेको दुधौली– १४ का तत्कालीन वडाध्यक्ष लीलाबहादुर थापामगरले बताए ।
तर, वन संरक्षणको जिम्मा पाएको डिभिजन वन कार्यालय सिन्धुलीका प्रमुख कृष्णराज न्यौपाने सिमेन्ट उद्योगले वन अतिक्रमण गरेको विषय आफूलाई जानकारी नभएको बताउँछन् ।
उद्योगले ५० हेक्टर क्षेत्रफलको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) गरी विभागलाई बुझाएको र विभागले पनि स्वीकृत गरी मन्त्रालयमा पठाएको देखिन्छ, स्वीकृति भए–नभएको विषयमा आफूहरुलाई जानकारी नभएको उनी बताउँछन्। नयाँ पत्रिकाबाट