काठमाडौं। लमजुङमा १० वटा सडकले १० करोड ९२ लाख रुपैयाँ बजेट पाउने भएका छन् । आगामी आर्थिक वर्षमा कार्यान्वयन हुनेगरी जिल्लाका विभिन्न स्थानीय तहअन्तर्गत सडक स्तरोन्नतिका लागि बजेट विनियोजन भएको हो ।
संघीय सरकारले समपूरक र विशेष अनुदान शीर्षकअन्तर्गत १० वटा सडक योजनाका लागि बजेट विनियोजन गरेको हो । सडक योजनाअन्तर्गत बेसीसहर, दोर्दी र दूधपोखरीका दुईवटा सडक परेका छन् । सोबाहेक मध्यनेपाल, राईनास, सुन्दरबजार र मस्र्याङ्दीका एक–एकवटा सडक परेका छन् । जिल्लाको क्होलासोँथार गाउँपालिकाको लागि भने एउटै सडकका लागि पनि बजेट विनियोजन भएको छैन ।
सडक स्तरोन्नति योजनाअन्तर्गत बेसीसहरस्थित धुरपुरे–दुईथोक–विम्दा–वाख्रेजगत सडक स्तरोन्नतिका लागि आगामी आर्थिक वर्षमा एक करोड २५ लाख रुपैयाँ आउने भएको छ । त्यसैगरी बेसीसहरकै उदिपुर–नयाँगाँउ सडक स्तरोन्नतिका लागि एक करोड १५ लाख रुपैयाँ विनियोजन भएको छ । आगामी आर्थिक वर्षमा मध्यनेपाल नगरपालिकाअन्तर्गत भोर्लेटार, वांग्रे, नेटा मालिका मन्दिर सडकका लागि ५० लाख रुपैयाँ विनियोजन भएको छ ।
राईनास नगरपालिकाअन्तर्गत वगरगाँऊ–टुँडावगर–सडक र उपल्लोफाँट–ठुलोवगैंचा–पाडेवेशी–जुडिखेत सडकका लागि ८० लाख रुपैयाँ विनियोजन भएको छ । त्यसैगरी सुन्दरबजार नगरपालिकाअन्तर्गत भारती सदन लिंगे डाँडा हुँदै रामदी पेट्रोल पम्प मोटर बाटो स्तरोन्नतिका लागि पनि ८० लाख रुपैयाँ विनियोजन भएको छ । दूधपोखरी गाउँपालिकाअन्तर्गत लामागाँउ–जोर्ने–सामघडेरी सडक स्तरोन्नतिका लागि एक करोड ३० लाख रुपैयाँ विनियोजन भएको छ ।
दूधपोखरीकै प्यारजुंङ–पात्ले सडक स्तरोन्नतिका लागि पनि एक करोड ३० लाख रुपैयाँ विनियोजन भएको छ । त्यसैगरी दोर्दी गाउँपालिकाअन्तर्गत नौथर–शेरा–तांजे सडक स्तरोन्नतिका लागि एक करोड १५ लाख रुपैयाँ विनियोजन भएको छ । दोर्दीकै ठाँटी–पिपल भञ्ज्याङ्ग–सल्लावाट मोटरबाटो निर्माणका लागि पनि एक करोड १५ लाख रुपैयाँ विनियोजन भएको छ ।
मस्र्याङ्दी गाउँपालिकाअन्तर्गत खुदी–सिउरुङ–स्यांगे सडक स्तरोन्नतिका लागि भने एक करोड ५२ लाख रुपैयाँ विनियोजन भएको प्रतिनिधिसभा सदस्य देव गुरुङको सचिवालयले जनाएको छ । कारोबार दैनिकबाट