काठमाडौं। अर्थमन्त्री डा.प्रकाशशरण महतले पूर्वाधार विकासमा स्रोत बढाउन विश्व बैङ्कसँग आग्रह गरेका छन्। बिहीबार अर्थमन्त्रालयमा भएको बैङ्कको दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजरसँगको भेटमा मन्त्री महतले पूर्वाधार विकास र सामाजिक विकासका सूचकबीच घनिष्ठ सम्बन्ध रहेकाले यसका लागि आवश्यक स्रोत व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेका हुन्।
पूर्वाधार विकासमार्फत गरिबी तथा पिछडिएको वर्गको जनजीवनमा सकारात्मक परिवर्तन ल्याउन सकिने, गाउँबाट साना बजारमा पहुँच विस्तार हुने र क्षमता विकास गरी अवसर पनि विस्तार हुने भएकाले पूर्वाधारका लागि स्रोतको आवश्यकतामा उनले जोड दिए।
बसाइँसराइसँगै साना सहरी पूर्वाधारमा चाप परेकाले पूर्वाधार विकासमा थप स्रोत आवश्यक रहेको अर्थमन्त्री महतको भनाइ छ। खास गरी जलविद्युत्, सूचना प्रविधि, पर्यटन क्षेत्रको विकासमा सडक पूर्वाधार पूर्वसर्त रहेको पनि उनले बताए।
छलफलका क्रममा उनले सामाजिक सुरक्षा, राष्ट्रिय गौरवका आयोजना र चालु खर्च विनियोजन गरेपछि अन्य आयोजनाका लागि आवश्यक रकम न्यून रहने अवस्था रहेको बताए।
विश्व बैङ्कको वित्तीय सहायतामा निर्माण हुन लागेको माथिल्लो अरुण आयोजनाको कार्यान्वयन गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे। उक्त आयोजनाका लागि स्रोत जुटाउँदा अन्य आयोजनामा स्रोत कमी हुन नदिने गरी व्यवस्थापन गर्न र नेपालमा क्रियाशील नरहेका विकास साझेदारलाई आकर्षित गर्न उनले आग्रह गरे।
सरकारले पूर्वाधार क्षेत्रमा लगानी बढाउन चाहेकाले आगामी आर्थिक वर्षको बजेटमार्फत पुँजीगत खर्च बढाउने प्रतिबद्धता गरेको उनले जानकारी गराए।
छलफलमा उपाध्यक्ष मार्टिनले स्रोतको समुचित परिचालनमा समस्या रहेको र त्यसलाई सम्बोधन गर्न संयुक्त रूपमा काम गर्न आग्रह गरे।