काठमाडौं। रकम अभावका कारण व्यवस्थापनमा समस्या भएपछि सिन्धुलीमा रहेको ५० शैयाको कोभिड–१९ (आइसोलेसन) अस्पताल बन्द गरिएको छ। आठ महिना अघिबाट सञ्चालनमा आएको अस्पताल बुधबारबाट पूर्णरुपमा बन्द गरिएको अस्पतालका अध्यक्ष प्रलाद पोखरेलले जानकारी दिए।
उक्त अस्पताल कोभिड–१९ को महामारी बढ्दै जाँदा बागमति प्रदेश सरकार, स्थानीय पालिका, विभिन्न संघसंस्था, व्यापारी, उद्योगी, राजनीतिक दल तथा सयौं व्यक्तिको सहयोगमा २०७८ वैशाखबाट सञ्चालनमा ल्याइएको थिय ।
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई तलब भत्ता तथा अस्पताल संचालनका लागि आवश्यक व्यवस्थापन खर्च जोहो गर्न नसक्दा सदाका लागि अस्पताल बन्द गर्न बाध्य भइयो, पोखरेलले भने। सो अस्पतालमा ४९ जना स्वास्थ्यकर्मीलगायतका कर्मचारीहरु कार्यरत थिए।
कमलामाई नगरपालिका ६ शिबनगरमा रहेको ५० वेडको कोभिड अस्पतालमा अक्सिजन प्लान्ट, पीसीआर टेष्ट ल्याब समेत संचालन रहेको थियो। सिन्धुली अस्पतालमा आइसोलेसन प्रयाप्त नहुँदा अस्पताल, स्थानीय राजनीतिक दल, प्रशासन, नेपाली सेना, रेडक्रसकर्मीलगायतको सक्रियतामा झण्डै ३ करोड रुपैयाँ लगानीमा निर्माण गरिएको अस्पताल सिन्धुली अस्पताललाई संचालनको जिम्मा दिइएको थियो।
अस्पतालमा आवश्यक पर्ने स्वास्थ्यकर्मीहरुको व्यवस्थापन प्रदेश र संघिय सरकारले गर्ने भनिएपनि चासो नदेखाएपछि सिन्धुली अस्पतालको स्रोत साधनले मात्र सम्भव नहुने निश्चित भएपछि बाध्य भएर कर्मचारीहरुको विदाई गरेर अस्पताल बन्द गर्नु परेको बताइएको छ।
अब अस्पतालमा अक्सिजन प्लान्ट र पिसिआर टेष्ट ल्याब मात्र संचालन हुने छ। अस्पतालबाट कोरोना माहामारीको दोस्रो यता मात्रै ३ सय १४ जनाले सेवा लिएका थिए। जसमध्ये २ सय ४६ जना स्वस्थ्य भएर डिस्चार्ज भएका थिए भने ३९ जनालाई बाहिर रिफर गरिएको। २९ जनाको मृत्यु भएको थियो।
असपताल बन्द भएपछि भने सामान्य ज्वरो आएको बिरामीलाई पनि जिल्ला बाहिर रिफर गर्नुपर्ने बाध्यता भएको उनको गुनासो छ। उक्त अस्पताल संचालनका लागि प्रदेश सरकारले कर्मचारि व्यवस्थापनका लागि छुट्याएको बजेट गत असोज मसान्तबाट समाप्त भएको सिन्धुली अस्पतालका मेडिकल सुपरीटेण्डेन डाक्टर उमेश प्रधानको भनाइ छ।
प्रदेश सरकाले कर्मचारि ब्यबस्थापनको लागि ६० लाख बजेट दिएको थियो। तर, आगामी दिनका बारेमा कतैबाट निर्णय हुन नसक्दा तलब दिने स्रोत नै नभएपछि अस्पताल बन्द गरिएको हो,अस्पताल बन्द भएको खबरसँगै जिल्लाबासी निरास भएका छन्। कोभिड संक्रमितले अनेत्र जाँदा अक्सिजन र वेड समेत नपाउने अवस्था गुजारेका जिल्लाबासी जिल्लामै ५० वेडको अस्पताल सञ्चालनमा आएपछि निक्कै उत्साहित थिए।