काठमाडौं। माथिल्लो अरूण जलविद्युत परियोजनामा लगानी जुटाउन अर्थ मन्त्रालयले पहलकदमी थालेको छ। १०६१ मेगावाटको माथिल्लो अरूण जलविद्युत परियोजनामा लगानी जुटाउन अर्थ मन्त्रालयले विभिन्न दातृ निकायका प्रतिनिधिहरुसँग छलफल गरेको हो।
अर्थमन्त्रालयले विश्व बैंक, एसियाली विकास बैंक, जाइका, जर्मनी सरकार, ओपेक फण्ड, युरोपियन युनियन, युरोपियन लगानी बैंक, कुबेत फण्ड, जर्मन, साउदी विकास फण्ड लगायतका दातृ निकायका प्रतिनिधिसँग छलफल गरेको छ। छलफलमा विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजर र पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष वांग्जी चेन पनि सहभागी थिए ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले विश्व बैंकले माथिल्लो अरूणमा लगानी गर्न खोज्नु सकारात्मक भएको बताए।
मन्त्री महतले जलाशययुक्त दुधकोशी जलविद्युत परियोजनामा एसियाली विकास बैंकले चासो राखेको भन्दै लगानीको प्रक्रिया छिटो अगाडि बढाउन आग्रह गरे।
छलफलमा विश्व बैंक, एसियायी विकास बैंक, जाइका फण्ड, साउदी फण्डका प्रतिनिधिहरुले माथिल्लो अरूण परियोजनामा लगानी गर्न इच्छुक रहेको बताए। जर्मनी सरकारका प्रतिनिधिले भने परियोजनामा हुने प्रगतिका आधारमा ट्रान्समिसन लाइनमा लगानी गर्न आफूहरू इच्छुक रहेको बताए।
सन् २०२५ जुलाईबाट परियोजना निर्माणको काम सुरू गर्ने योजना छ। योजनालाई आवश्यक स्थानीय लगानी जुटाउन हाइड्रोइलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको नेतृत्वमा नागरिक लगानी कोष, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैकले कन्सोर्टियम (सहवित्तीयकरण) बनाएका छन्। यो कन्सोर्टिमयले आयोजनामा ५३ अर्ब रुपैयाँ स्थानीय लगानी जुटाउनेछ।