ललितपुर। ललितपुर महानगरपालिकाले ३० ठाउँमा नि:शुल्क पार्किङको व्यवस्था गरेको छ। गन्तव्य स्थलको पाँच मिनेटको वरपर पर्नेगरी महानगरभित्रका ३० स्थानमा नि:शुल्क पार्किङको व्यवस्था गरिएको हो।
महानगरभित्रका १८ फिटभन्दा बढी चौडाइ भएका सडकखण्डमा सडककै एक लाइन पार्किङ गर्न दिइएको छ । साँघुरो ठाउँ र नो पार्किङ क्षेत्रमा पार्किङ गर्नेलाई भने जरिवाना तिराउने गरिएको छ।
ललितपुर महानगरले पार्किङको चुस्त व्यवस्थापन गरेकै कारण यहाँ जथाभावी पार्किङ गर्ने र महानगरले उठाएर लैजानुपर्ने अवस्था पनि छैन। साथै पार्किङका सम्बन्धमा महानगरप्रति जनगुनासो समेत नआएको महानगर प्रहरीले जनाएको छ।
ललितपुर महानगका यी स्थानमा छन् नि:शुल्क पार्किङ
ललितपुरको महानगरपालिकाअगाडि, मंगलबजार, हःजा, हौगल, टंगाल, नःटोल, पाटनढोका गेटअगाडि र पछाडि, सुन्धारा, पाटन भीमसेन मन्दिरअगाडि, पुल्चोक दमकलअगाडि, जावलाखेल प्रहरी कार्यालयअगाडि, भनिमण्डल, एकान्नकुना खरीबोट, मानभवन, कुमारीपाटी, पाटन अस्पतालअगाडि, कर्मचारी सञ्चय कोषअगाडि निशुल्क पार्किङ गर्न सकिन्छ ।
यसैगरी जिल्ला अदालतअगाडि, कुपण्डोल, कनिबहाल, एकान्तकुना, सेन्ट मेरिज स्कुल पूर्वतर्फ, महालक्ष्मीस्थानअगाडि, लगनखेल बसपार्क उत्तरतर्फ, बटुक भैरव, करिडोर युएन पार्कनजिकै, सानेपा करिडोर, बल्खु करिडोर, पाटन अस्पताल, भाटभटेनी र सुमेरु अस्पताल, निदान अस्पताल, अल्का अस्पतालको पार्किङमा निशुल्क राख्न सकिन्छ । चक्रपथबाहिर भने पार्किङको समस्या नभएको महानगरले जनाएको छ ।