काठमाडौं। यातायात क्षेत्रका समस्याहरुको समाधान गर्नका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पहल सुरु गरेको छ। यातायात क्षेत्रका १० समस्या तत्काल सामधान गर्न मन्त्री प्रकाश ज्वालाले शुक्रबारदेखि ‘सहकार्य समन्वय र एक्शन’ योजना शुरु गरेका हुन्।
ट्राफिक प्रहरी, स्थानीय तह, प्रदेश सरकार र संघिय सरकारको सहकार्य तथा समन्वयमा मन्त्रायलयले काम अगाडि बढाएको छ। मन्त्री ज्वालाले शुक्रबार ट्राफिक प्रहरी प्रमुख एआइजी, मिरा चौधरी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ, बाग्मती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्साल, सवै प्रदेशका विभागीय सचिव तथा प्रतिनिधि, मन्त्रालयका सचिव, सहसचिवसहित मन्त्री ज्वाला र राज्यमन्त्री नन्दा चापागाईले ४ घण्टा लामो छलफल गरे ।
यातायात क्षेत्र सुधार गर्न १० समस्या रहेको समन्वय बैठकले निष्कर्ष निकालेको छ । सवारी चालक अनुमति पत्रको छपाई, सवारी साधनहरुको अभिलेखीकरण, व्यवस्थापन, अनलाइन सवारी दर्ता, तथा लाइसेन्स नविकरण, सवारी साधन रुट परमिट, परीक्षणकालिन सवारी चालक अनुमति पत्र, इम्बोष्ट नम्वर प्लेट जडान, बेवारिसे सवारी साधनको ब्यवस्थापन, पुराना सवारी साधनको लगत कट्टा, राइड सेयरिङ, विदेशी सवारी चालक अनुमति पत्र लगायतका समस्या सामधान गर्न मन्त्री ज्वालाले ‘सहकार्य, समन्वय र एक्शन’ योजना शुरु गर्न लागेका हुन् ।