काठमाडौं। पछिल्लो पाँच महिनाको अवधिमा देशभरका विभिन्न ठाउँमा पहिचान भएका १६ वटा आयोजनाले उत्पादन अनुमति पाएका छन्। गत वर्षको पुषदेखि यस वर्षको वैशाखसम्मको अवधिमा तीन सय ५४ मेगावाटका १६ आयोजनाले उत्पादन अनुमति पाएका हुन्।
३ मेगावाटदेखि ४९ मेगावाटसम्मका आयोजनालाई अनुमति दिइएको विद्युत विकास विभागले जनाएको छ।
उत्पादन अनुमति पाएको आयोजनामध्ये सबैभन्दा ठूलो ४९.९५ मेगावाटको दाना खोला जलविद्युत आयोजना रहेको छ । लालुपाते हाइड्रो पावरले अध्ययन पूरा गरेको यस आयोजनाले २०८० बैशाख २१ गते उत्पादन अनुमति पाएको थियो । सांग्रीला ऊर्जा प्रालिले अध्ययन पूरा गरेको ४८ मेगावाटको छुजुङ खोलाले पनि अनुमति पाएको विभागले जनाएको छ। यस आयोजनाले २०७९ चैत २ गते अनुमति पाएको हो ।
यसैगरी, ४४ मेगावाटको सानीभेरी, ४० मेगावाटको भोटेकोसी-१, ३० मेगावाटको पलुन खोला–१, २२ मेगावाटको रोलवालिङ, २१ मेगावाटको पलुन खोला स्मल, २४ मेगावाटको लुजा खोला, २० मेगावाटको आँखु खोला–२ जलविद्युत आयोजनालाई उत्पादन अनुमति प्रदान गरेको विभागले जनाएको छ ।
१४.५ मेगावाटको बुदुम खोला, १२ मेगावाटको मिस्त्री खोला–२, ९.३ मेगावाटको सिवाखोला, ६.०५ मेगावाटको तल्लो भिम खोला, ४.९ मेगावाटको माथिल्लो पिखुवा खोला, ४.५ मेगावाटको तल्लो इन्द्रावती, ३.३ मेगावाटको स्यार्पु जलविद्युत आयोजनाले उत्पादन अनुमति पाएका छन् ।