काठमाडौं। पूर्वको चर्चित धार्मिक तथा पर्यटकीय क्षेत्र दोमुखालाई शिवसताक्षी नगरपालिकाले पूर्वपश्चिम राष्ट्रिय राजमार्गसँग कालोपत्रे सडकले जोडेको छ ।
कन्काई नदीको किनार र चुरे क्षेत्रसँगको संगममा रहेको दोमुखामा वर्षभरि नै आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गर्दछन् । तर ग्राभेल सडकका कारण यहाँ वर्षायाममा श्रद्धालु तथा पर्यटकलाई पुग्न कठिन हुने गरेको थियो । कन्काई नदीप्रतिको धार्मिक आस्थाका कारण यहाँ पूजा र दर्शनका लागि श्रद्धालु पुग्ने गरे पनि झण्डै चार दशकअघि कन्काई नहर निर्माणका क्रममा बाँध बनेपछि यो क्षेत्र पर्यटकीय दृष्टिकोणले पनि रोजाइमा पर्दै आएको हो ।
पर्यटकको रोजाइमा पर्ने दोमुखा जोड्न शिवसताक्षी नगरपालिका–१० स्थित माईधार–दोमुखा २९ सय मिटर लामो सडक कालोपत्रे भएको हो । चार करोड २४ लाख ८३ हजार २४५ रकमबाट कालोपत्रे भएको नगरपालिकाले जनाएको छ । जसमा शिवसताक्षी नगरपालिकाको दुई करोड २४ लाख ८३ हजार २४५ रुपैयाँ र संघीय समपूरक कोषको २ करोड रकम रहेको छ ।
७ मिटर चौडाइ कालोपत्रे, तीनवटा बक्स कल्भड र दुई वटा ह्युमपाइपसमेत लगाएर सडक निर्माण भएपछि श्रद्धालु तथा पर्यटकलाई सहज हुने अपेक्षा गरिएको नगर प्रमुख मेगाहाङ्ग थोप्राले बताए । नगर प्रमुख थोप्राले स्थानीय तह निर्वाचनमा आफ्नो चुनावी एजेन्डाको रूपमा पनि यो सडकलाई राखेका थिए । आफू नगर प्रमुख भएको करिब एक वर्षमा सो सडक कालोपत्रे गरेर जनतासँग गरेको बाचा पूरा गरेको उनको भनाइ छ ।
शिवसताक्षीको माईधारदेखि दोमुखासम्मको यो सडक कनकाई सिँचाइ आयोजनाले २०३३ सालमा निर्माण गरेको थियो । त्यसपछि अहिलेसम्म उक्त सडकको स्तरोन्नति हुन सकेको थिएन । सडक निर्माणको करिब ४० वर्षपछि यस सडक कालोपत्रे भएको हो । समथर तराईबाट आधा घण्टाको यातायात दूरीमा पुगिने चुरे क्षेत्रसँग जोडिएको र कन्काई किनारको दोमुखामा विभिन्न चलचित्र र म्युजिक भिडियोसमेत छायांकन हुने गरेका छन् ।
केही वर्षयता पर्यटकको आकर्षणका लागि यहाँ विभिन्न संरचना थपिने क्रम जारी रहेको शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले बताइन् । माईधारबाट दोमुखा सम्मबाटो स्तरीय सडक नहुँदा यहाँ आउने पर्यटकले सास्ती बेहोर्नु परेको थियो । दोमुखा पर्यटकीय क्षेत्र जाने बाटो कालोपत्रे बनेपछि आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा थप वृद्धि हुने अपेक्षा गरिएको शिवसताक्षी नगरपालिका–१० का वडाध्यक्ष हर्क सिगूले बताए छन् । कारोबार दैनिकबाट