काठमाडौं। दोस्रो चरणको पेट्रोलियम पाइपलाइन परियोजना र भण्डारण गृह निर्माण हुने भएको छ। नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी) को संयुक्त लगानीमा पाइपलाइन र भण्डारण गृह निर्माण गर्न लागिएको हो ।
चितवनको लोथरमा एक लाख किलोलिटर र झापामा ४५ हजार किलोलिटर क्षमताको भण्डारण गृह निर्माण गर्न लागिएको हो । चितवनमा भण्डारण गृह निर्माण निगमको लगानीमा हुने छ। हाल निगमसँग एक हप्तालाई मात्र पुग्ने ६८ हजार किलोलिटर क्षमताको भण्डारण रहेको छ । डेढ लाख किलोलिटर क्षमताको दुई ठाउँमा भण्डारण गृह निर्माण गरिने भएको हो ।
निगमका प्रवक्ता मनोजकुमार ठाकुरले दुई ठाउँमा भण्डारण गृह निर्माण भए एक महिनाको माग धान्ने गरी इन्धन भण्डारण पुग्ने जानकारी दिए। निगमको नौ अर्ब लागत चितवनको लोथरमा एक लाख किलोलिटर क्षमताको इन्धन भण्डारण गृह निर्माण गरिने उनले जानकारी दिए। आगामी पाँच वर्षमा निर्माण सकिने यो परियोजना सम्पन्न भएपछि इन्धन भण्डारण क्षमता बढ्ने उनको भनाइ छ।
हालै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको क्रममा नेपाल र भारतबिच पेट्रोलियम पूर्वाधार निर्माणका चार परियोजना २६ अर्ब रुपियाँ लागतमा पाँच वर्षभित्र सम्पन्न गर्ने गरी समझदारी भएको छ ।
आइओसीले तीन वटा परियोजनामा १७ अर्ब खर्च गर्ने छ भने एउटा भण्डारण डिपोमा नेपालले नौ अर्ब रुपियाँ लगानी गर्नुपर्ने छ । आइओसीले भारतको सिलिगुडी–चारआली पेट्रोलियम पाइपलाइन, चारआलीमा इन्धन भण्डारण डिपो र अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन परियोजना निर्माण गर्ने भएको छ । चितवनको पेट्रोलियम भण्डारण डिपो भने निगमको लगानीमा बन्ने छ ।
दुई पाइपलाइन परियोजना
मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण अन्तर्गत अमलेखगन्ज–लोथर ६२ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन निर्माण हुने छ । यस्तै भारतको सिलिगुडीमा रहेको आइओसी डिपोबाट झापाको चारआलीसम्म हुने छ । सो पाइपलाइनको ३५ किलोमिटर क्षेत्रफल भारतमा पर्ने छ भने १५ किलोमिटर नेपालतर्फ पर्ने छ । दुवै पाइपलाइनको निर्माण भारतीय लगानीमा हुने छ । पाइपलाइन निर्माणका लागि आइओसीले प्राविधि र आर्थिक सहयोग गर्ने छ । निगमका कुल परियोजनाको दुई इन्धन भण्डारण डिपो (ग्रिन फिल्ड टर्मिनल) मध्ये एक नेपालले बनाउने छ भने एउटा भारतले नै बनाइदिने छ ।
वातावरणीय दृष्टिले कार्बन उत्सर्जन रोक्ने गरी हरित टर्मिनलयुक्त डिपोमध्ये झापाको चारआलीको पेट्रोलियम डिपो भारतले निर्माण गरिदिने छ । यस डिपोमा डिजेल, पेट्रोल र मटितेल तीन वटै इन्धन भण्डारण गर्ने भर्टिकल ट्याङ्की निर्माण हुने छ ।
यसअघि निगम र आइओसीको संयुक्त लगानीमा पहिलो चरणको रक्सौल–अमखेलगन्ज पेट्रोलियम पाइपलाइन परियोजना २०७५ सालदेखि सम्पन्न भई नियमित रूपमा डिजेल आयात भइरहेको छ । निगमले पोखरा र भैरहवामा इन्धन भण्डारण गृह निर्माणसमेत गरिरहेको छ । गोरखापत्रबाट