काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) मा सदस्यबाहेक सबै पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन समितिको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दै गणेश कार्कीलाई अध्यक्षमा निर्वाचित गरेको हो।
अध्यक्षमा कार्कीका प्रतिस्पर्धी किरण मल्लले उमेदवारी खारेज गरेपछि कार्की निर्विरोध चयन भएका हुन्। किरण मल्ल निर्वाचन रोक्न अन्तरिम आदेश माग गर्दै उच्च अदालत पाटन गएका थिए। अदालतमा मुद्दा पनि हाल्ने र उम्मेदवारी पनि दर्ता गरेपछि उच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो।
वरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी, उपाध्यक्षमा भरतबहादुर खत्री, उत्तम ब्लोन, रामप्रसाद आचार्य, आशिष गर्ग, आनन्द चौधरी निर्वाचित भएका छन्।
महासचिवमा बलराम खतिवडा, उपमहासचिवमा प्रकाशभन्द्र दुलाल, सचिवमा भरतप्रसाद नेपाल, भरतकुमार खड्का, कविता पोखरेल कँडेल, विक्रम विष्ट, हिमप्रसाद पाठक निर्वाचित भएका छन्। कोषाध्यक्षमा नरेन्द्र बल्ल निर्विरोध निर्वाचित भएका छन्।
सात सदस्यका लागि भने १४ जना उमेदवारबीच आज निर्वाचन हुँदैछ।