काठमाडौं। काठमाडौं महानगरकाका विभिन्न स्थानमा स्मार्ट सडकबत्ती जडान गर्नका लागि सर्भे सुरु गरिएको छ। एक वर्षभित्रै स्मार्ट सडकबत्ती जडान सक्नेगरी महानगर र विद्युत प्राधिकरणबीच सम्झौता भइ सर्भेको काम अघि बढाइएको हो।
सडकबत्ती जडानका लागि महानगरपालिकाले ६० प्रतिशत र प्राधिकरणले ४० प्रतिशत लगानी गर्ने सम्झौता भएको छ। बत्ती जडानपछि यसको सञ्चालन र व्यवस्थापनका लागि महानगरलाई हस्तान्तरण गरिनेछ ।
ऊर्जा दक्षता तथा चुहावट नियन्त्रण विभागअन्तर्गत राष्ट्रिय सडकबत्ती प्रवद्र्धन आयोजनाका अनुसार तीनदेखि चार महिनाभित्र बत्ती जडान सुरु हुनेछ ।
सर्भे सकिएछि कतिवटा सडकबत्ती किन्ने भन्ने निक्र्योल हुने र त्यसपछि मात्रै सडकबत्ती जडान सुरु गर्ने बताइएको छ। सडकबत्ती राख्न महानगर र विद्युत् प्राधिकरणबीच गत २४ माघमा सम्झौता भएको थियो । सडकबत्ती जडान गर्न ११ करोड ९९ लाख ७४ हजार ९ सय २५ रुपैयाँ लाग्नेछ ।
महानगर र प्राधिकरणबीच भएको सम्झौताअनुसार लैनचौर–महाराजगन्ज, माइतीघर मण्डला–बागबजार, बागबजार–शीतलनिवास, सिनामंगल–अन्तर्राष्ट्रिय विमानस्थल, गौशाला–कमलपोखरीसम्म, चाबहिल–जोरपाटीसम्म महानगरको लगानीमा बत्ती जडान हुनेछ । यस्तै, सिनामंगल विमानस्थल–तीनकुने, बानेश्वर, माइतीघर मण्डला, त्रिपुरेश्वर, टेकु, कालीमाटी हुँदै कलंकीसम्म, त्रिपुरेश्वर–लैनचौरसम्म र टुँडिखेलवरिपरि प्राधिकरणको लगानीमा बत्ती जडान हुनेछ ।