काठमाडौं। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट सार्वजनिक गरेको छ। प्रदेश सरकारका तर्फबाट आर्थिक मामिलामन्त्री धनबहादुर मस्कीले आर्थिक वर्ष २०८०/८१ का लागि शुक्रबार कूल ४० अर्ब ४७ करोड ८९ लाख ५७ हजारको बजेट सार्वजनिक गरेका हुन्।
बजेटमध्ये चालुतर्फ १३ अर्ब ६३ करोड ३० लाख ९९ हजार र पूँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख एक हजार बजेट विनियोजन गरिएको छ।
आगामी आर्थिक वर्ष आन्तरिक राजस्वबाट रु छ अर्ब ७३ करोड ५१ लाख, सङ्घबाट प्राप्त हुने राजस्व बाँडफाँटबाट ११ अर्ब ३१ करोड ७४ लाख, सङ्घबाट प्राप्त हुने रोयल्टी २९ करोड, स्थानीय तहबाट बाँडफाँट भएर प्राप्त हुने राजस्व दुई अर्ब ५० करोड ३० लाख प्राप्त हुने अनुमान गरिएको छ।
प्रदेश सरकारले बजेटमा प्रदेशको स्थायी राजधानीमा पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र रोजगारीलाई मुख्य प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरेको मन्त्री मास्कीले बताए।
स्वास्थ्यतर्फ भान्सा सुधार कार्यक्रम, दीर्घरोग पहिचान व्यवस्थापनमा जोड, प्राकृतिक उपचारमा ध्यान, मातृशिशु मृत्युदर घटाउन विशेष कार्यक्रम, राप्ती प्रादेशिक अस्पताललाई स्तरोन्नति गर्न रु छ करोड, लुम्बिनी प्रादेशिक अस्पताललाई २१ करोड ९० लाख, सन्धिखर्क अस्पताललाई रु छ करोड, लुम्बिनी र राप्तीबाट निःशुल्क टिकटलाई रु एक करोड, स्वास्थ्य सेविका रहेका ६० वर्ष पुगेकालाई अवकास दिन प्रतिव्यक्ति ५० हजार, प्रदेश राजधानीमा लालमटियामा स्वास्थ्य सेवा बनाउन एक करोड ५० लाख बजेट विनियोजन गरिएको छ।
नवजात शिशु एकाइ बनाउन बजेट, प्रादेशिक आयुर्वेदिक अस्पताल थप व्यवस्थापन गराउने, बिजौरीलाई ५० शय्या, बुटवललाई १५ शय्या र सबै आयुर्वेदिक व्यवस्थापन, सबै उपचार केन्द्रलाई व्यवस्थापन गरिने सबै सरकारी अस्पतालमा निःशुल्क रगत व्यवस्थापनका लागि रकम व्यवस्थापन गरिएको बजेटमा उल्लेख गरिएको मन्त्री मास्कीले बताए।
यस्तै शिक्षातर्फ लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई रु १० करोड, लक्षित वर्गका विद्यार्थीलाई निरन्तरता दिन रु छ करोड, अधिक विद्यार्थी रहेका विद्यालयलाई प्रदेश प्रमुख शिक्षा सुधार कार्यक्रम, असल अभ्यास र कमजोर क्षमता भएका विद्यालयलाई समन्वय, प्राविधिक शिक्षालाई विशेष जोड, विद्यालयबाहिर रहेका विद्यार्थीलाई बजेट, मदरसा, गुम्बा र गुरुकुल तथा अटिजम विद्यार्थी अध्यापन हुने शिक्षण संस्थालाई बजेटको व्यवस्था मिलाइएको मन्त्री मस्कीले बताए। यस्तै राप्ती प्राविधिकलाई छ करोड, देउखुरीको सरस्वती माविलाई आवश्यक बजेट, एक हजारभन्दा धेरै विद्यार्थीलाई विज्ञान सुधार कार्यक्रम, युवा वैज्ञानिकलाई प्रोत्साहन राखिएको छ।
पर्यटनतर्फ लुम्बिनी क्षेत्रमा बृहत् बुद्ध सर्किट बनाइने, धार्मिक पर्यटन बढाउन बजेट, महत्त्वपूर्ण पर्यटन क्षेत्रको वर्गीकरण गर्दै गन्तव्य बनाउन रु चार करोड, दङ्गीशरण, पाल्पा दरबार सङ्ग्रहालयलाई बजेट, महत्त्वपूर्ण पर्यटकीय गन्तव्य पहिचान गर्न बजेट व्यवस्थापन गरिएको मन्त्री मस्कीले बताए।
भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कोसेली घर सञ्चालन, बुद्ध जन्मस्थलको माटो र पानी प्रयोग गरेर कोसेली बनाउन रकम व्यवस्थापन, सम्पदा सर्किट पूर्वाधार का लागि एक करोड ५० लाख, सांस्कृतिक गुरुयोजना बनाउन रकम व्यवस्थापन, लुम्बिनीमा भ्रमण वर्ष बनाउन निजी क्षेत्रसँग समन्वय गरिने, लुम्बिनीलाई अन्तर्राष्टियस्तरको कार्यक्रम गर्न छ करोड रकम व्यवस्थापन गरेको मन्त्री मास्कीको भनाइ छ।
सरकारले मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम सञ्चालन गर्न एक अर्ब बजेट विनियोजन गरेको छ। सीप, पूँजी र प्रविधिको विकास गरी रोजगार प्रवर्द्धन गर्न सरकारले थप चार करोड बजेट विनियोजन गरेको छ। सरकारले दुई वर्षमा दुई लाख बेरोजगारलाई रोजगार दिने गरी मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम अघि सारेको छ।