पर्सा। मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८०/८१ का लागि ४४ अर्ब ११ करोडको बजेट ल्याएको छ। शुक्रबार बसेको प्रदेशसभा बैठकमा अर्थ मन्त्री संजयकुमार यादवलेले अगामी आर्थिक वर्षका लागि ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार बराबरको बजेट प्रस्तुत गरेका हुन्।
जसमा चालू तर्फ १८ अर्ब २१ करोड, ७६ लाख १४ हजार अर्थात् ४१.३० प्रतिश र पुजिगत तर्फ २५ अर्ब ६९ करोड ७० लाख १८ हजार अर्थात् ५८.२५ प्रतिशत छ ।वितीय व्यवस्था तर्फ २० करोड अर्थात् ०.४५ प्रतिश छ ।
बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधारको क्षेत्रलाई प्राथमिकतामा राखिएको छ ।
समृद्धि, सुशासन र सामाजिक न्याय कायम गर्ने उद्देश्यका साथ अर्थतन्त्रलाई गतिशील बनाउन, निजी क्षेत्रको मनोबललाई उच्च पार्न, लगानीमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धताका साथ अर्थमन्त्री यादवले प्रदेशको १५ वर्षीय वार्षिक योजना, प्रदेश नीति विनियोजनमाथि भएको छलफल, मौद्रित नीतिलगायतको विषयलाई ध्यानमा राखेर बजेट विनियोजन गरिएको बताए।
बजेटमा कृषितर्फ दुई अर्व ६२ करोड ८५ लाख २७ हजार रकम विनियोजन गरिएको छ । किसान कार्ड वितरण, किसानलाई विदेश भ्रमण, कृषिमा आत्मनिर्भरताका लागि १० वर्षे गुरुयोजना निर्माण, प्रशोधन भण्डारण निर्माण, माटो परीक्षणको लागि प्रयोगशाला निर्माण, किसानहरुको खेतीपातिको लागि जडान गरिएको विद्युतीय मिटरको महशुल तिर्न, घुम्ती कृत्रिम गर्भाधान, कृषि सडक निर्माण जस्ता कार्यक्रमको लागि उक्त बजेट विनियोजन गरिएको छ ।
बजेटमा चुरे संरक्षण तथा व्यवस्थापन ऐन निर्माण गर्न जलवायु परिवर्तनका असर कम गर्नको लागि वन म्यान वन ट्रि कार्यक्रम सञ्चालन गर्न तीन करोड, वन विकासको लागि १५ करोड, इकोपार्क निर्माण जस्ता कार्यक्रमको लागि १० करोड, नदी र नाला नियन्त्रण र संरक्षणका लागि ३० करोड रकम विनियोजन गरिएको छ ।
विगतमा सञ्चालन भएको मधेश प्रदेश हरित प्रदेश कार्यक्रमलाई निरन्तरता दिएको छ। प्रदेशका ऐतिहासिक एवम् धार्मिक महत्वका स्थानहरु जानकी मन्दिर, कञ्चनवन, दुर्वाशागढी, शम्भुनाथ, सलहेश फुलावारी, कमलदहसहितको धार्मिक स्थानको संरक्षणको लागि बजेट विनियोजन गर्दै गढीमाईको पूर्वाधार विकास निर्माणको लागि दुई करोड विनियोजन गरिएको छ।
बजेटमा प्रत्येक पालिकाको स्वास्थ्य चौकीमा एमबीबीएसको सेवा सञ्चालन र गरिब जेहेन्दारको निःशुल्क ल्याब परीक्षणको लागि पाँच करोड, घुम्ती स्वास्थ्य परीक्षणको लागि पाँच करोड, बाराको झिटकोहियामा सरुवा रोग अस्पताल सञ्चालनको लागि दुई करोड, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५ करोड, छवटा अस्पतालको स्त्तरोन्नतीको लागि १० करोड, प्रत्येक पालिकामा बर्थिङ्ग सेवा बिस्तार गर्न २५ करोड बजेट विनियोजन गरिएको छ ।
त्यसैगरी दलित विकास समितिको लागि १२ करोड, मधेश प्रदेश कृषि विश्वविद्यालयको लागि ३० करोड, सर्लाहीको चक्रघटामा कन्या कलेज स्थापनाको लागि एक करोड, र मधेशको गौरवमय इतिहास लेखन गर्न तीन करोड रकम विनियोजन गरिएको छ । मधेश सरकारले सञ्चालन गरेको बेटी पढाऊ, बेटी बचाऊ अभियान अन्तर्गतको छोरी बीमा, छात्रालाई छात्रबृत्ति जस्ता कार्यक्रमलाई निरन्तरता दिएको छ ।
मुख्यमन्त्री स्वच्छता अभियानलाई निरन्तरता दिँदै आठ करोड बजेट छुट्याएको छ । खेलेगा मधेश तो खिलेगा मधेश नाराका साथ मधेश प्रदेशमा राष्ट्रियस्तरको रंगशाला पूर्वाधार निर्माणका लागि २५ करोड, धुवाँमुक्त भान्सा अभियानअन्तर्गत एक परिवार एक विद्युतीय चुलो कार्यक्रम सञ्चालनका लागि १२ करोड, लुकेको प्रतिभालाई प्रोत्साहन गर्न १५ करोड, उज्यालो प्रदेश कार्यक्रम सञ्चालनका लागि २५ करोड, बैदेशिक रोजगारमा जानेहरुको लागि सीपमूलक कार्यक्रम सञ्चालन गर्न तीन करोड, एक परिवार एक रोजगार नीतिअनुरुप मधेश स्वरोजगार कार्यक्रम सञ्चालनका लागि १० करोड रकम विनियोजन गरिएको छ ।
साना तथा मझौला ट्ववेल कार्यक्रमका लागि एक अर्ब २० करोड, मधेश प्रदेशको आफ्नो वित्तीय संस्था खोल्नका लागि १० करोड बजेट निर्धारण गरिएको छ ।