काठमाडौं। संघीय राजधानीको सहरी क्षेत्रभित्रैका बाटो बिग्रिँदा पनि सरकारले वास्तै गरेन भनेर आलोचना हुन थालेपछि सडक डिभिजन कार्यालयको ध्यानाकर्षण भएको छ। डिभिजनले अबको १५ दिनभित्र काठमाडौंका सडकको सबै खाल्डाखुल्डी पुरिने दाबी गरेको छ।
सडक डिभिजन काठमाडौंले मंसिर २० भित्र आफ्नो मातहत पर्ने सबै सडकका खाल्डाखुल्डी पुरिसक्ने योजनाका साथ काम गरिरहेको प्रमुख नारायण निहुरेले जानकारी दिएका छन्।मंसिर २० पछि चिसो बढेर कालोपत्रे गर्न तापक्रम नपुग्ने भएकाले त्यस अघि नै सक्ने गरी काम भइरहेको उनले जनाएका छन्।
हाल विभिन्न स्थानमा खाल्डाखुल्डी पुर्ने र सर्फेस ड्रेसिङ लगायतको काम चलिरहेको छ। डिभिजनले हेर्ने सडक काठमाडौंभित्र ४ सय ५० किलोमिटर रहेको छ। मुख्य सहरी क्षेत्रको सडक करिब १ सय २५ किमि छ। त्यसैले सहरी क्षेत्रमै बढी समस्याको गुनासा आएका हुनाले सो क्षेत्रको सडक निर्माणको काम थालिएको डिभिजनले जनाएको छ। खाल्डाखुल्डी पुरेर मार्किङ (पेन्टिङ, जेब्राक्रसिङ) गरेर चिटिक्क बनाउन लागिएको सडक डिभिजन भनाइ रहेको छ।
अहिले माइतीघर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, भीमसेनगोला, बत्तीसपुतली, सीतापाइला लगायतका स्थानमा खाल्डाखुल्डी पुर्ने काम भइसकेको छ। त्यसैगरी सडक विभागले ललितपुर र भक्तपुरको डिभिजनलाई पनि आफ्नो मातहतमा रहेका सडकका खाल्डाखुल्डी पुरिसक्न निर्देशन दिएको छ।
विभागले अघिल्ला वर्षहरुमा हिउँदमा उपत्यकाका सबै सडकको खाल्डाखुल्डी पुरेर चिटिक्क बनाउने गरेको थियो। विद्युत प्राधिकरण, मेलम्ची खानेपानी र अन्य विभिन्न युटिलिटिज राख्नका लागि खनिएका कारण खाल्डाखुल्डी बढ्दा सडक मर्मत गरेर दुरुस्त पार्ने काममा ढिलाइ भएको हो। आफ्नो नियमित वार्षिक योजनासँगै गुनासालाई ध्यानमा राख्दै डिभिजनले सबै खाल्डा खुल्डी पुरेर सडक पुरानै अवस्थामा फर्काउन लागेको जानकारी गराएको छ।