काठमाडौं। राष्ट्रिय गौरवको आयोजना (पुष्पलाल) मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड समयमै कालोपत्र गर्न पटक-पटक बैठक भएतापनि अझै काम हुन सकेको छैन।
प्रत्यक वर्षायाम सकिएर हिउँद लाग्दा जिल्लाका सरोकारवालाको बैठक जिप्रकामा हुन्छ। निर्णय पुस्तिकाका पाना भरिन्छन् तर काममा प्रगति हुँदैन। प्रशासनले फेरि आयोजना र निर्माण कम्पनीलाई ताकेता गर्ने प्रयास गर्यो। बिहीबार सरोकारवाला राखेर कामका लागि प्रतिबद्ध बनाउन खोजिए पनि आयोजना प्रमुखले भने प्रमुख जिल्ला अधिकारीलाई नै झूट बोलेर बैठक भाँडियो।
निर्माण कम्पनीका प्रमुख उपस्थित हुन्छन् भनेर डाकिएको बैठकमा आयोजनाको कुश्मास्थित कार्यालयका प्रमुख नारायणदत्त भण्डारी नै निर्धारित समयभन्दा ४५ मिनेट ढिलो उपस्थित थिए। उनले बैठकमा सहभागीलाई दुई घण्टासम्म निर्माण व्यवसायी आउँदै गरेको जानकारी गराएका थिए।
१० बज्नै लाग्दा निर्माण व्यवसायीका प्रतिनिधिमात्रै बैठकमा उपस्थित भए। उक्त खण्डमा काम गरिरहेका दुई निर्माण कम्पनीका साइड इञ्चार्ज सौरभ घिमिरे बैठकमा उपस्थित थिए। जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगाना, नेकपा (एमाले) का जिल्ला उपाध्यक्ष कृष्ण पाठक, नेपाली कांग्रेसका सभापति दीपेन्द्र थापा, नेकपा (माओवादी केन्द्र) का संयोजक ज्ञामनाथ गैरे, नेकपा एकीकृत समाजवादीका अध्यक्ष लालबहादुर थापा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष अमर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका सहअध्यक्ष शैलेन्द्र श्रेष्ठलगायत केही जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख, पत्रकार र अन्य सरोकारवाला बैठकमा थिए।
निर्माण व्यवसायी नै नआएकाले आयोजनासँग छलफल गर्नुको कुनै औचित्य नरहेको भन्दै सबै उक्त बैठकबाट हिँडे, सर्कुवामा अनुगमनको कार्यक्रम थियो, उहाँ पुग्ने बेलासम्म यहाँ कुरेर बसियो, ठेकेदार आउलान् भनेको उनका दूतमात्रै आए, जिसस प्रमुख ढुङ्गानाले भने, यो आयोजनाको अपमान र काम नगर्ने प्रवृत्तिको चित्र हो। समयमा काम नगर्न कै लागि आयोजनाले निर्माण व्यवसायीलाई उपस्थित नगराएको आरोप उनले लगाए।
विसं २०७२/७३ मा सुरू भएको बिहुँ खण्ड र ०७३/७४ मा सुरू भएको बागलुङ अक्षेते खण्ड तीन वर्षमा सकिनुपर्ने थियो। छ वर्ष समय बितिसक्दासमेत म्याद थप्नेबाहेक काम भएको छैन। म्याद थप्ने समयमा मात्रै देखिने मजदूर म्याद थप भएपछि देखिन छोड्छन् भने निर्माण उपकरण थन्किने गरेका छन्।
बागलुङ अक्षेते खण्ड स्तरोन्नति र कालोपत्रेको जिम्मेवारी पाएको भारत सिद्धिसाही जेभीले १२ दशमलव पाँच किलोमिटर र बिहुँ घोडाबाँधे खण्डको जिम्मेवारी पाएको सूर्य कन्ट्रक्सन दुवैले चित्तबुझ्दो काम नगरेको उनीहरूको आरोप छ।