काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले आफ्नो कार्यकालको हालसम्म ४२ किलोमिटर सडक कालोपत्रे र ७ किलोमिटर नयाँ ढल निर्माण गरेको बताएका छन्। प्रमुख शाहले सामाजिक सञ्जालमार्फत घोषणा पत्रमा भए अनुसार हालसम्म गरेका कामहरुको विवरण सार्वजनिक गर्दै ४२ किमि सडक कालोपत्रे भइसकेको जानकारी दिएका हुन्।
उनले लेखेका छन्, ‘सहरको सुरक्षा र पैदल यात्रीहरुलाई सहजता प्रदान गर्नको लागि महानगरले १७०० वटा स्मार्ट सडकवत्ति जडान गरेको छ। यस्तै ४२ कि.मि सडक कालोपत्रे, ७ कि.मि नयाँ ढल निर्माण, १५०० मिटर फुटपाथ निर्माण भएका छन्।’
शाहको घोषणा पत्रमा सार्वजनिक जग्गा संरक्षण, नयाँ पार्क निर्माण, स्मार्ट सडकवत्ति जडान, फुटपाथ निर्माण लगायतका काम गर्ने उल्लेख गरिएको थियो। सोही अनुसार आफूहरुले पालिका भित्र बस्ने आम मतदाताहरूको हितमा काम गर्दै आइरहेको बालेनको दाबी छ।
बालेनले चालु आर्थिक वर्षमा १२३ रोपनी सार्वजनिक जग्गा अतिक्रमणबाट बचाएको बताए। उनले भनेका छन्, ‘विगत लामो समय देखि सार्वजनिक जग्गा अनधिकृत प्रयोग भइरहेको हामीलाई गुनासो आइरहन्थ्यो। त्यस्ता गुनासाहरूलाई हामीले विशेष प्राथमिकतामा राखेर काम गर्दै आएका छौं। जस अनुरूप हामीले चालु आर्थिक वर्षमा १२३ रोपनी सार्वजनिक जग्गाको संरक्षण भएको छ। यो कार्य निरन्तर चलिरहने छ।’
त्यसैगरी घोषणा पत्रमा शारीरिक तन्दुरुस्ती, मानसिक सतर्कता र भावनात्मक रूपमा स्थिरता कायम राख्ने पार्कहरूको निर्माण गर्ने उल्लेख गरे अनुरूप २५ वटा नयाँ पार्कको निर्माण भएको शाहले बताए।
सार्वजनिक शौचालयहरू र सामुदायिक विद्यालय भवनहरू निर्माण तथा मर्मत लगायतका पूर्वाधार विकासका कार्यहरू सम्पन्न भएको र पैदलयात्रीहरुको सहज आवागमनका लागि फुटपाथको उपयोग सहज र सरल बनाएको शाहले उल्लेख गरेका छन्।