वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि तीन अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेकाे छ।
उपप्रमुख इम्तियाज आलमले बुधबार नगर सभाको १३ औँ अधिवेशनमा उक्त अनुमानित आयव्यय बजेट प्रस्तुत गरेका हुन्।
कुल बजेटमध्ये चालुतर्फ दुई अर्ब ४८ करोड ८५ लाख पाँच हजार अर्थात् ७७ प्रतिशत र पुँजीगततर्फ ६८ करोड ८७ लाख १५ हजार अर्थात् २२ प्रतिशत बजेट विनियोजन गरिएको छ। यस्तै वित्तीय व्यवस्थातर्फ तीन करोड ६३ लाख २४ हजार बजेट छुट्याएको छ।
सबैभन्दा बढी बजेट यातायात पूर्वाधार क्षेत्रका लागि ५९ करोड विनियोजन गरिएको छ। शिक्षा क्षेत्र सुधारतर्फ १२ करोड २० लाख, खानेपानी तथा सरसफाइ क्षेत्रमा १२ करोड विनियोजन गरिएको छ। आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ एवं विकेन्द्रित रूपबाट उपलब्ध गराउन विकेन्द्रित स्वास्थ्य सेवाका लागि तीन करोड ७५ लाख, स्वयम्सेवक शिक्षक कार्यक्रमका लागि चार करोड ७५ लाख, खेलकुद क्षेत्रका लागि एक करोड छुट्याइएको छ ।
त्यसैगरी लामखुट्टेमुक्त महानगर अभियानका लागि लामखुट्टेको लार्भा नियन्त्रण, बासस्थान नष्ट गर्न औषधी छर्किने अभियानका लागि ३५ लाख विनियोजन भएको छ ।
महानगरपालिकाले सङ्घीय सरकारको वित्तीय समानीकरणबाट ४२ करोड ८८ लाख रुपियाँ, राजस्व बाँडफाँट २१ करोड १२ लाख, ससर्त अनुदान ७५ करोड १६ लाख प्राप्त हुने अनुमान गरेको छ । सङ्घीय सरकारको वित्तीय हस्तान्तरणबाट एक अर्ब ३३ करोड २१ लाख, राजस्व बाँडफाँटबाट २५ करोड २४ लाख ७० हजार प्राप्त हुने अनुमान छ । यस्तै प्रदेश वित्तीय हस्तान्तरणबाट चार करोड ४५ लाख ९५ हजार, प्रदेश राजस्व बाँडफाँटबाट दुई करोड ८७ लाख र आन्तरिक राजस्वबाट एक अर्ब २० करोड ४४ लाख ३० हजारको अनुमान गरिएको छ ।