काठमाडौं। भाटभटेनी डिपार्टमेन्टल स्टोरको शाखा वीरगंजमा पनि विस्तार हुँदैछ। वीरगंजमा बन्ने भाटभटेनी डिपार्टमेन्टल स्टोर नेपालकै सबैभन्दा बढी क्षेत्रफलमा फैलिएको छ। मीनबहादुर गुरुङ सञ्चालक रहेको भाटभटेनीको १९ औं शाखाको रुपमा वीरगंजमा निर्माण कार्य शुरु भएको हो।
कम्पनीका अनुसार लगभग ५ अर्ब लगानीमा सुविधा सम्पन्न भाटभटेनीको शाखा सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको छ। पछिल्लो ३ महिनादेखि वीरगंज–१४ बहुअरीस्थित सिप्रदीको कार्यालयभन्दा दक्षिणपट्टि टाँसिएकै जग्गा किनेर निर्माण कार्य अघि बढाइएको हो।
हाल चारै तिरबाट कर्कटपाताले पर्खाल लगाएर जग तथा अन्य भौतिक संरचनाको काम शुरु भएको प्राविधिकहरुले बताएका छन्। स्रोतका अनुसार वीरगंजको भाटभटेनीको आउटलेटको लागि मुख्य कार्यालयले करिब १ अर्ब रुपैयाँ खर्चेको छ। गण्डक–घण्टाघरको मुख्य सडकखण्डको पुर्वपट्टिको उक्त जग्गा मध्ये राजमार्गसंग छोएको जग्गा १३ लाख धुरको हिसाबले खरिद गरिएको छ भने बाँकी जग्गाको लागि ९३ लाख कठ्ठाको हिसाबले खरिद गरिएको छ।
जग्गा बेच्ने स्थानीयका अनुसार कुल जग्गाको लागि करिब ९० करोडभन्दा बढि खर्च भएको छ। डिपार्टमेन्टल स्टोरमा गुणस्तीय खद्यान्न,लत्ताकपडा,दैनिक उपभोग्यको समान,कस्मेटिक समान,सवारी साधन,इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स समानलगायतको समान बिक्री गर्ने गरिन्छ। समाज आधुननिकता तर्फ गइरहेकोले एकै थलोमा सबै समान बिक्रीवितरण गर्ने गरी भाटभटेनी सुपर मार्केटले काठमाडौंको विभिन्न स्थानसंगै, चितवन, हेटौडा, धरान, हटहरी, विराटनगर, भैरहवा, बुटवललगायतका मुख्य शहरहरुमा १८ वटा शाखा सञ्चालन गरिसकेको छ।