काठमाडौं। निर्माणाधिन काठमाडौं धादिङ जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आयोजनाको प्रगति ८५.७० प्रतिशत पुगेको छ । काठमाडौं र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग २ हजार ६ सय ८८ मिटरमध्ये २ हजार ७१ मिटर सुरुङ खन्ने काम पूरा भएको आयोजनाले जनाएको छ ।
निकासी सुरुङमार्गको २५ सय ५७ मिटरमध्ये २ हजार ४ सय ४ मिटर सुरुङ खन्ने काम सम्पन्न भएको छ । वर्किङ अडिट १२६ मिटर पूरा भएको छ भने क्रस प्यासेज, १२८ मिटरमध्ये ११० मिटर पूरा भएको बताइएको छ । आयोजनाको समग्र भौतिक प्रगति ५५ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ५८ प्रतिशत पूरा भएको आयोजनाले जनाएको छ ।
मुख्य सुरुङमार्गको फिनिसिङ अर्थात कंक्रिट लाइनिङको काम भइरहेको छ । सुरुङ मार्ग छेड्ने कामसँगै आयोजनाले कंक्रिट लाइनिङ ९फिनिसिङ०को कामसमेत तीव्र रुपमा अघि बढाएको छ । हालसम्म मुख्य, सहायक सुरुङ, वर्किङ अडिट, सुरुङ खन्ने काम सम्पन्न भएको प्रगति विवरणमा आयोजनाले सार्वजनिक गरेको छ ।
निर्माणाधिन काठमाडौं धादिङ जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्ग समयमा पूरा नहुने भएपछि एक् वर्ष म्याद थप भएको छ । सम्झौता अनुसार जापानिज निर्माण कम्पनी हाजमा एण्डो कर्पोरेसनले २६ जुलाई ०२३ सम्म आयोजना निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर निर्धारित समयमा आयोजना पूरा नहुने भएपछि सरकारले सन् २०२४ अप्रिल २५ सम्मका लागि समय थप गरेको छ ।
२०७७ साल पुस ७ गतेबाट सुरुङ छेड्ने काम थालिएको थियो । ४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी २०७६ कात्तिक ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले २.६८ किलोमिटर लम्बाईको सुरुङमार्गको शिलान्यास गरेका थिए । लम्बाई २.६८ किमी, चौडाई ३.५ किमी, दुवैतर्फ ०.५ मिटर पानी बगाउने नाली, एप्रोच मार्ग, पूर्व लम्बाई २.३२ किमी, पश्चिम लम्बाई ०.५६५ किमी निर्माण हुने छन् ।
कोभिड–१९ र आन्तरिक तयारीका कारण सुरुङ खन्ने काम केही महिना ढिलो भएको थियो । नेपाल सरकारको ४ अर्ब ८० करोड रुपैयाँ र जापान सरकारको १५ अर्ब ८० करोड रुपैयाँ ऋण सहयोग गरी करिब २० अर्ब ६० करोड रुपैयाँ लगानीमा सुरुङमार्ग निर्माण हुन लागेको हो । आयोजनाले निर्माण गर्नुपर्ने ३ अण्डरपास, ४ बक्स कल्भर्ट, एउटा ओभर पास, ३ वटा पल निर्माण पूरा भएको छ भने एउटा फ्लाइओभरको ९५ प्रतिशत निर्माण कार्य सकिएको छ । कारोबार दैनिकबाट