खोटाङ। विद्यालय टाढा हुँदा खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदीका विद्यार्थी तीन घण्टासम्म हिँड्न वाध्य छन् । अपायक ठाउँमा रहेको स्थानीय कुहुडाँडा माबिमा अध्ययनरत छात्रछात्रा पठन–पाठनका लागि दैनिक एकतर्फी तीन घण्टासम्म हिँड्न वाध्य बनेका हुन् । फेदीको तेरावा, लामीडाँडा, पिपिङ, सुम्देसिरान, चित्रे लगायतका छात्रछात्रा दैनिक तीन घण्टा पैदल हिँड्ने गरेको कुहुडाँडा माबिका प्रअ चन्द्र राईले बताए ।
तापखोला किनारभन्दा केही माथि रहेको विद्यालयका अधिकांश छात्रछात्रा उँदो झर्नुपर्ने हुन्छ । बिहान ओरानो झर्न तीन घण्टाको हाराहारीमा समय लागे पनि बेलुका फर्कनेक्रममा उकालो तीन घण्टाभन्दा बढी समय लाग्ने गरेको छ । विद्यालय आउने र जानेक्रममै करिब ६ घण्टा समय खर्च भए पछि विद्यार्थीलाई घरमा गृहकार्य र पठन–पाठन गर्ने समय व्यवस्थापन गर्न सकस भइरहेको छ ।
ओरालो भएकाले स्कुल झर्दा अलि चाँडो हुन्छ, प्रअ राईले भने, तर उकालो निस्कँदा तीन घण्टाभन्दा बढी समय लाग्छ ।
फेदीका वडाध्यक्ष निरकुमार राईका अनुसार थुम्की, खोलाखर्क, ठूलोखरे, माखम्ला, शेर्पाटोल, केलसी लगायतका गाउँका विद्यार्थीलाई पनि विद्यालय पुग्न तीन घण्टाको हाराहारीमा समय लाग्ने गरेको छ । विद्यालय पुग्नका लागि छात्र छात्रा बिहान सात बजे नै विद्यालय हिँड्ने गरेका छन् । विद्यार्थी विद्यालयबाट छुट्टी भएपछि साँझ अवेर मात्र घर पुग्ने गरेका छन् । विद्यालय जाँदा साँढे दुई घण्टा र घर फर्कँदा तीन घण्टा समय लाग्ने गरेको थाकुकी कक्षा ९ मा अध्ययनरत छात्रा मन्जिता राई बताउँछिन् । उकालो बाटो छिचोलेर अवेर घर पुग्दा थाकेर गृह–कार्य गर्नै समस्या हुने गरेको छ ।
हालको केपिलासगढी गाउँपालिका–१ फेदी र केपिलासगढी गाउँपालिका–२ खार्ताम्छा एउटै वडा थियो जसलाई पञ्चायतकालमा खार्ताम्छा गाबिस भनिन्थ्यो । एउटै वडा भएकोबेला सेन्टरमा पर्नेगरी २०१७ सालमा कुहुडाँडा माबि स्थापना गरिएको थियो ।
पञ्चायतकालमा खार्ताम्छालाई फुटाएर खार्ताम्छा र फेदी गाबिस बनाइए पछि कुहुडाँडा माबि फेदीको किनारामा पर्न गएको हो । हाल कुहुडाँडा माबि फेदी र खार्ताम्छाको सिमानामा पर्छ । कुहुडाँडालाई फेदीको केन्द्रमा बनाउने विषयमा कसैको ध्यान जान सकेको छैन ।