काठमाडौं। धवलागिरि गाउँपालिकाको निर्माणाधीन प्रशासकीय भवनलाई बजेट अभाव भएको छ । गाउँपालिकाले वडा नम्बर ३ घट्टेखोलामा निर्माणाधीन भइरहेको भवनमा संघीय सरकारबाट आउनपर्ने बजेट समयमै नआएका कारण भवन निर्माण प्रभावित बन्ने जोखिम बढेको र समयमै सम्पन्न नहुने समस्या बढ्दै गएको गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताए ।
संघीय सरकारको ६० र गाउँपालिकाको ४० प्रतिशत बजेट साझेदारीमा सुरु भएको प्रशासकीय भवनलाई संघीय सरकारबाट आउनपर्ने बजेट समयमै आउने निश्चित नभएका कारण समस्या भएको गाउँपालिका अध्यक्ष पुनको भनाइ छ । “हालसम्म संघीय सरकारबाट ७५ लाख आएको छ । अहिलेसम्म भवनको प्रगतिअनुसार निर्माण व्यवसायीलाई भुक्तानी पालिकाले गरेको छ । गाउँपालिकाले गरेको अपेक्षाअनुसार संघीय सरकारमार्फत् भुक्तानी गर्न सकेको छैन,” उनले भने, “आगामी आर्थिक वर्षमा भवन निर्माणलाई पूर्णतादिने गरी संघीय सरकारको बजेट अपेक्षा गरेका छौं । गाउँसभाबाट आवश्यक बजेटलाई सुनिश्चित गर्ने योजना छ ।”
स्थानीय सेवा सुविधा एउटै भवनबाट उपलब्ध गराउने योजनासँगै अघिल्लो आर्थिक वर्षको असारमा सम्झौता र चालू आर्थिक वर्षको गत मंसिर १९ गतेबाट निर्माण सुरु भएको भवनको ३५ प्रतिशत प्रगति भएको गाउँपालिका प्राविधिक लोकेन्द्रबहादुर रावलले बताए । “आगामी पुसमा सम्पन्न गर्नुपर्ने भवनमा संघीय सरकारबाट आउनपर्ने चार करोड ६३ लाख रकममध्ये हालसम्म ७५ लाख रुपैयाँमात्र आएको छ । संघबाट आउनपर्ने रकम नआउँदा कामअनुसारको भुक्तानी दिन समस्या भएको छ,” उनले भने, “हालसम्म निर्माण व्यवसायीलाई एक करोड ७५ लाख रुपैयाँ भुक्तानी भइसकेको छ । आगामी आर्थिक वर्षमा काम सम्पन्न गराउनका लागि तत्काल संघले केही रकम उपलब्ध गराउन सकेमा कामअनुसार निर्माण व्यवसायीलाई भुक्तानी दिन सहज हुनेछ ।”
भुक्तानीका लागि स्रोत सुनिश्चितताको अभाव हुँदा निर्माण व्यवसायीलाई तीव्र गतिमा कामअघि बढाउनका लागि दबाब सिर्जना गर्न गाह्रो भएको प्राविधिक रावलको भनाइ छ । तीनतले भवनमा २७ वटा कोठा, एकरएक वटा सभाहल र बैठक कक्ष हुने भवन निर्माणका लागि आर्थिक वर्ष २०७६र०७७ मा स्थानीयबासीबाट १४ रोपनी जग्गा निस्शुल्क उपलब्ध गराएको थियो । जनताले एउटै भवनबाट सबै सेवासुविधा पाउने किसिमले निर्माण सुरु भएको भवनको बजेट सुनिश्चितताका लागि म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खमबहादुर गर्वुजालाई जानकारी गराएको अध्यक्ष पुनले बताए ।
भवन निर्माणका लागि प्रतिष्ठा–जुम्ली–माछापुच्छ्रे जेभीले गाउँपालिकासँग सात करोड ७१ लाख ८९ हजार ६६६ रुपैयाँमा गत आर्थिक वर्षको असार ३ गते ठेक्का सम्झौता गरेको थियो । २०८० पुस ३ गतेसम्म भवन निर्माण गर्ने सम्झौता छ । म्याग्दीमा रघुगंगा गाउँपालिका र धवलागिरि गाउँपालिकाले जग्गा व्यवस्थापन गरेर प्रशासकीय भवन निर्माण गरेका छन् भने अन्य पालिकाले जग्गा व्यवस्थापन गर्न नसक्दा भाडाका घरबाट कार्यालय सञ्चालन गर्दै आएका छन् । धवलागिरि गाउँपालिकाबाहेक संघीय मापदण्डअनुसारको प्रशासकीय भवन अन्य पालिकाले बनाउन सुरु गरेका छैनन् । कारोबार दैनिकबाट