धनुषा। जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले शुक्रबार नगरसभामा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरेका छन्। आगामी आर्थिक वर्षका लागि उपमहानगरपालिकाका लागि २ अर्ब २८ करोड २३ लाख ६९ हजार २९० रूपैयाँ बजेट सार्वजनिक गरिएको हो।
बजेटमा चालुतर्फ १ अर्ब १३ करोड ६२ लाख अर्थात् ४९.७८ प्रतिशत, पुँजीगततर्फ एसियाली विकास बैंक (एडीबी)सहित १ अर्ब ९ करोड २८ लाख ३५ हजार २९० अर्थात् ४७.८८ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ५ करोड ३३ लाख ३४ हजार अर्थात् २.३४ प्रतिशत बजेट विनियोजन गरिएको छ।
बजेटमा आन्तरिक स्रोतबाट ८० करोड ४३ लाख ११ हजार रूपैयाँ र बाहृय स्रोतबाट १ अर्ब ३९ करोड ४२ लाख ९८ हजार र ऋणबाट ८ करोड ३७ लाख ६० आम्दानी हुने उल्लेख छ ।
बजेटअनुसार आर्थिक विकास समितिलाई ६ करोड ७९ लाख ७५ हजार, सामाजिक विकास समितिलाई ६१ करोड २८ लाख ४३ हजार ५ सय, पूर्वाधार विकास ९० करोड ९८ लाख ८८ हजार २९०, वन, वातावरण तथा विपद व्यवस्थापनलाई ६ करोड २ लाख ८७ हजार ५ सय, सुशासन तथा संस्थागत विकास समितिलाई ५७ करोड ६३ लाख ७५ हजार बजेट विनियोजन गरेको जानकारी दिएका हुन् ।उपमहानगरपालिकाले फोहोरमैला संकलन गर्न डस्टविन व्यवस्थापन गर्न २० लाख, लामखुट्टे नियन्त्रणबारे अध्ययन गर्न १० लाख र त्यसलाई कार्यान्वयन गर्न २ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।
नगरपालिकाको गाडी पार्किङस्थल तथा ग्यारेजका लागि १ करोड ५० लाख, नगर सौन्दर्यीकरण योजना तथा फोहोरमैला प्रसोधन केन्द्र निर्माणका लागि २ करोड ५० लाख, रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको थप निर्माणका लागि २० लाख र घुम्ती शौचालय खरिद गरी सञ्चालन गर्न ३५ लाख बजेट विनियोजन गरेको छ।
बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधारलगायतका विषयलाई प्राथमिकतामा राखिएको उपप्रमुख साहले बताए ।