पाँचथर। फिदिम नगरपालिका ४ र हिलिहाङ गाउँपालिका ७ को संगममा पर्ने हेवा खोलामा बाँसको फड्के लगाइएको छ । असार ३ गते गएको बाढीले पुल बगाएपछि सडक सम्पर्क टुटेको यस क्षेत्रका यात्रुलाई आवागमन गर्न सहज होस् भनेर फड्के हालिएको हो ।
फड्के बनाउन नेपाली सेनाको रणशेर गणका प्राविधिकसँगै स्थानीय युवाहरुले सहकार्य गरेका थिए । पुल बगाएपछि एक घन्टासम्म उकालो, ओरालो हिँडेर झोलुङ्गे तर्दै सवारी साधनको पहुँचमा पुग्नु पर्ने अवस्थालाई सहजीकरण गर्न स्थानीय र सुरक्षा निकायको प्रयासमा फड्के हालिएको युवा संघ पाँचथरका अध्यक्ष कमल थपलियाले बताए ।
अब ताप्लेजुङतर्फबाट खोलापारी आएका यात्रु करिब १० मिनेटको यात्रा पछि फड्के तरेर सवारी साधनको पहुँचमा आइपुग्न थालेका छन् ।
यसैबीच बाढीका कारण पुल बगेपछि ठप्प भएको मेची राजमार्ग अन्तर्गत फिदिम–ताप्लेजुङ सडक खण्ड आज साँझ सम्ममा सुचारु हुने भएको छ ।
सडक डिभिजन इलामले हेवा खोलामा हृयुमपाइप राखेर डाइभर्सन गर्दै यातायात सुचारु गराउन लागेको हो ।
डाइभर्सनका लागि शनिबार साँझदेखि हृयुमपाइप राख्ने काम थालिएको डिभिजन इलामका इन्जिनियर विपिन ढुङ्गेलले बताए ।
हृयुमपाइप राख्न आज अपराहृनसम्म समय लाग्ने र काम सकिए लगत्तै फिदिमदेखि ताप्लेजुङ र ताप्लेजुङदेखि फिदिम आउने जारी सवारी तथा ढुवानीका साधन आवागमन सुचारु गराउने योजना रहेको छ ।
असार ३ गते गएको बाढीले हेवा खोला पुल बगाएसँगै एकसातादेखि फिदिम ताप्लेजुङ सडक खण्डमा यातायात तथा ढुवानीका साधन चल्न सकेका छैनन् । कान्तिपुरबाट