एजेन्सी । डयुटी सकिएको भन्दै पाइलट हिडे पछि जयपुरमा ६ घन्टासम्म यात्रु अलपत्र परेका छन् ।
लण्डनबाट दिल्लीका लागि आएको एयर इन्डियाको अन्तर्राष्ट्रिय उडान मौसम खराबी कारण पाइलटले जयपुरमा अवतरण गराए । तर, पाइलटले आफ्नो ड्युटी टाइम सकिएको बताउँदै हिडे पछि जयपुर विमानस्थलमा ६ घण्टासम्म उडानमा सवार यात्रुहरु अलपत्र परेका थिए ।
समाचार अनुसार ती यात्रुलाई सडकमार्फत दिल्ली पठाइएको थियो । दिल्लीको खराब मौसमका कारण आइतवार ३ अन्तर्राष्ट्रिय र २ आन्तरिक उडानलाई जयपुरतर्फ डाइभर्ट गरिएको थियो । जसमा एयर इन्डियाको दुई, स्पाइस जेटको दुई र गल्फ स्ट्रिमको एउटा उडान समावेश थियो।
एयर इन्डियाको उडान एआई–११२ लण्डनबाट बिहान ६ बजे दिल्ली पुग्ने समय तालिका थियो । खराब मौसमका कारण उडानलाई जयपुरतर्फ डाइभर्ट गरिएको थियो । डाइभर्ट गरिने एयर इन्डियाको दोस्रो उडान दुबईबाट दिल्ली गइरहेको थियो। गल्फ स्ट्रिमको विमान बहराइनबाट दिल्ली जाँदै थियो । स्पाइस जेटको एउटा उडान पुणेबाट र अर्को गुवाहाटीबाट दिल्ली गइरहेको थियो ।
विमानमा सवार भारतीय मुलका बेलायती नागरिक अदितले जयपुरमा छाडेर पाइलट हिडे पछि अलपत्र परेका यात्रुलाई रिस उठेको बताए । तर, एयर इन्डियाले दिल्ली पठाउने हवाईजहाजको नयाँ व्यवस्था नगरेको बताए । उनीहरुले उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धिया र सांसद राज्यवर्धन सिंह राठौरलाई ट्वीट गर्र्दै गुनासो गरेका थिए ।
यसपछि एयर इन्डियाले जवाफ दिँदै छिट्टै समाधान गर्ने वाचा गरेको थियो । तर, ६ घण्टाभन्दा बढी जनताले सास्ती खेप्नुपरेको थियो । पछि एयर इन्डियाले केही यात्रुहरूलाई भोल्भो बस र टयाक्सीमार्फत जयपुरवाट दिल्ली पठाउने ब्यवस्था गरेको थियो ।
उडान डाइभर्सनका कारण जयपुर विमानस्थलमा करिब ६ घण्टासम्म सो जहाजमा सवार १५० भन्दा बढी यात्रुले सास्ती खेप्नुपरे पछि स्थीति तनावग्रस्त बन्न पुगेको थियो । आक्रोशित यात्रुले विमानस्थलमा नाराबाजी गरेका थिए ।
यात्रुहरुको असन्तुष्टि हटाउन विमानस्थल प्राधिकरणले उनीहरुलाई खाना र अन्य सुविधा उपलब्ध गराएको थियो ।