काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कुल बजेटमध्ये करिब ३३ प्रतिशत बजेट मधेश प्रदेशको सडक निर्माण तथा स्तरोन्नतीका लागि विनियोजन गरिएको छ।
पूवार्धार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बजेटबारे सासंदले सोधेको प्रशन बारे आइतबार प्रतिनिधिसभामा जवाफ दिँदै मन्त्रालयको कुल बजेटको ३३ प्रतिशत बजेट मधेश प्रदेशको सडक निर्माण र स्तरोन्नतीमा विनियोजन गरेको जानकारी दिएका हुन्।
उनले भने, ‘केहि माननियज्यूहरुले धेरै राजस्व दिने मधेश प्रदेशमा निकै कम बजेट विनियोजन भएको गुनासो सहितको प्रश्न गर्नुभएको छ। मधेश प्रदेशले देशलाई धेरै राजस्व दिने कुरामा कुनै विवाद छैन। तर बजेटमा मधेशलाइ उच्च महत्व दिइएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कुल बजेट मध्य करिब ३३ प्रतिशत बजेट मधेश प्रदेशका सडक निर्माण तथा स्तरोन्नतीमा विनियोजित गरिएको छ।’
जस अन्तर्गत सडक सुधार तथा विकास आयोजनामा ५४ करोड २० लाख, निर्वाचन क्षेत्र रणनितिक सडक कार्याक्रममा ३२ करोड, राजमार्ग स्तरोन्नति तथा पुर्नस्थापना कार्याक्रममा १ अर्ब २६ करोड, वैकल्पिक सहायक राजमार्गमा २४ करोड ३० लाख, हुलाकि राजमार्गमा १ अर्ब ५० करोड ९१ लाख, व्यापारिक मार्गमा रु.८ करोड ५० लाख, काठमाडौं-तराइ द्रुत मार्गमा रु. २२ अर्ब, पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कमला-कञ्चनपुर ४ लेन सडक विस्तारमा रु. ७ अर्ब ३२ करोड, कमला ढल्केबर पथलैया सडक विस्तारमा रु. ३ अर्ब ७५ करोड र रेल मार्गमा रु. ४ अर्ब रकम सहित कुल रु. ४१ अर्ब ९६ करोड बजेट मधेश प्रदेशमा विनियोजन भएको मन्त्री ज्वालाले जानकारी दिए।
त्यसैगरि निर्माणधिन र नयाँ गरि ३६८ वटा पुलका लागि छुट्टै बजेट विनियोजित गरिएको जसमध्ये २४७ वटा स्थानीय पुल निर्माण कार्यक्रम तर्फ भएको कुल विनियोजको १९% मधेश प्रदेश अन्तर्गतका पुल निर्माण योजनाहरुमा विनियोजन गरेकाे समेत उनले बताए ।