काठमाडौं। बागमती प्रदेशका प्राय स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट सार्वजनिक गरेका छन्। केही स्थानीय तहबाहेक अधिकांशले असार १० गते नीति तथा कार्यक्रम र बजेट गाउँ तथा नगर अधिवेशनमा प्रस्तुत गरेका हुन्।
बागमित प्रदेशका अधिकांश पालिकाले बजेटमा पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखेको पाइएको छ। पूर्वाधारतर्फ पनि सडक निर्माण पहिलो सूचीमा र त्यसपछि शिक्षा, स्वास्थ्य क्षेत्रका भवन र पालिका तथा वडाका प्रशासनिक भवन निर्माणका लागि बजेट विनियोजन गरिएको छ।
बागमित प्रदेशको धादिङ जिल्लाका अधिकांश स्थानीय तहको सार्वजनिक नीति तथा कार्यक्रम र बजेट पूर्वाधार विकासमा नै केन्द्रित भएको पाइन्छ। पूर्वाधार विकासपछि शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन भएको छ।
पूर्वी चितवनको कालिका नगरपालिकाले बजेटमा नगर यातायात, सडक सञ्जाल विस्तार, निःशुल्क हटलाइन सेवा, नागरिक सहायता कक्षबाट गुनासा सुनुवाइलगायतमा जोड दिएको देखिन्छ। रत्ननगर नगरपालिकाको बजेटबाट पूर्वाधार विकासतर्फ तीन करोड आठ लाख ४८ हजार छुट्याइएको छ। यस्तै नगर गौरवका आयोजनातर्फ रत्ननगर हरियाली पार्कमा तीन करोड २० लाख, सार्वजनिक जग्गा संरक्षण तथा घेराबार कार्यक्रमका लागि २० लाख, उज्यालो रत्ननगर अभियानका लागि एक करोड ५० लाख रुपियाँ विनियोजन गरिएको छ। नगर प्रमुखसँग उद्यमशील कार्यक्रम एक करोड, कृष्णसार बासस्थान व्यवस्थापन ५० लाख र लौरीघोल तथा पञ्चनदी संरक्षण तथा पार्क निर्माण ५० लाख रुपियाँ विनियोजन गरिएको छ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले बजेटको २४ करोड ९६ लाख ५६ हजार अर्थात् ४०.२५ प्रतिशत पूर्वाधार विकास क्षेत्रमा खर्च गर्ने उल्लेख गरेको छ। थाहा नगरपालिकाले बजेटमा कृषि, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्यलगायत सामाजिक क्षेत्र, सुशासन, उद्यमशीलता र रोजगारीलाई प्राथमिकता दिएको छ ।