काठमाडौं। पर्वतको फलेवास नगरपालिकाको बीच भागमा छ लमाए खोला । खोलामाथिको झोलुंगे पुलको लठ्ठा लत्रिएर जमिन छोएको वर्षौं भइसकेको छ भने पुलको पिल्लर भत्किएको छ । पुलको जाली च्यातिएको छ । पुलमा बिछ्याइएका पाता उप्किएका छन् । पुल जीर्ण अवस्थामा गुज्रिएको लामो समय भए पनि मर्मतमा कुनै निकायले समेत चासो देखाएको पाइँदैन ।
यही पुलसँगै जोडिएको मोटर बाटो हुँदै संघीय, प्रदेश तथा स्थानीय सरकारका जनप्रतिनिधि सवारी साधनमा ओहोरदोहोर गर्छन् । तर छेवैमा रहेको जीर्ण पुल मर्मतमा चासो नदिँदा नागरिक जोखिम मोलेर खोला तर्न बाध्य भएका छन् । फलेवास नगरपालिका–७ लिमिठानाका वडाध्यक्ष केशर पन्त र वडा नम्बर ८ ठानामौलाका वडाध्यक्ष मनबहादुर कुँवरसमेत यही झोलुंगे पुल हिँड्दै नगरपालिकाको कार्यालय आउजाउ गर्छन् । दिनहुँ सयौंको संख्यामा पैदल यात्री यही पुलबाट यात्रा गर्छन् ।
घाँसदाउरादेखि गाईवस्तु चराउने यही बाटो ओहोरदोहोर गर्छन् । स्थानीय तहको निर्वाचनसँगै संघ र प्रदेशको निर्वाचनमा अनेक प्रतिबद्धतासहित गाउँगाउँ पुगेका नेतालाई स्थानीयले झोलुंगे पुल मर्मत गरिदिन आग्रह गरेका थिए । नेताहरूले तत्काल पुल मर्मत गरिदिने आश्वान दिए पनि अहिले उक्त पुल देखेर पनि नदेखेझैँ गरेका छन् । जनप्रतिनिधि जनताका समस्याप्रति गम्भीर छैनन् भन्ने कुराको पुष्टि यो पुलको अवस्थाले पनि प्रमाणित गरेको छ । यो पुलले फलेवास नगरपालिका–५ खानीगाउँ र लिमिठानालाई मात्र होइन समग्र दक्षिणवासीलाई जोडेको छ ।
पुल मर्मत नहुँदा यात्रुहरू समस्यामा परेका छन् । पुलको छेउमै बंगुरफार्म सञ्चालन गरेका खानीगाउँ ५ का विनोद सुनारका अनुसार पुलको मर्मत नहुँदा पैदल यात्रु र विद्यार्थीलाई निकै समस्या परेको छ । “हिउँदोको समयमा खासै समस्या हुँदैन, खोलाबाट पनि तर्न सकिन्छ, तर, वर्षायाममा निकै समस्या हुने गरेको छ,” सुनारले भने । २०५७ सालमा निर्माण भएको पुल अहिले बेवारिसे अवस्थामा छ । पुल मर्मतका लागि खासै चासो भएको देखिँदैन ।
दिनहुँ लिमिठानाका विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि खानीगाउँ आउजाउ गर्छन् । अन्य बेला खोलाबाट हिँडडुल गरे पनि बर्खाको समयमा अन्य वैकल्पिक बाटा खोजेर खोला तर्नुपर्ने बाध्यता रहेको कक्षा ११ मा पढ्ने सविता पन्तले बताइन् । दिनहुँ घाँसदाउरा र खेती गर्ने किसानलाई पुल मर्मत नहुँदा निकै मर्का परेको छ । “खोला किनारमा जाली भोर्ने र मोटरबाटो खन्ने बजेट आउँछ । तर, पुल मर्मत गर्न बजेट नआएको हो कि जनप्रतिनिधिले पहल नगरेका हुन् भन्ने विषयमा हामी अनविज्ञ छौं,” स्थानीय विनोद सुनारले भने ।
लिमिठानाका वडाध्यक्ष केशर पन्तले पुल मर्मतका लागि पहल भइरहेको दाबी गरे । पुल मर्मतका लागि नगरपालिकामा बजेट छैन, प्रदेश र केन्द्रीय सरकारमा कुरा पुर्याए पनि सुनुवाइ नभएको उनको भनाइ छ । फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारीले पुल मर्मतका लागि पहल भइरहेको बताए । उनले पुल मर्मत नहुँदा जोखिम बढेको बताउँदै नागरिकले भोगिरहेका समस्याप्रति आफू गम्भीर रहेको बताए ।
सोही पुलभन्दा झण्डै ५ मिटरमाथि रहेको खानीगाउँ–लिमिठाना जोड्ने झोलुंगे पुल भने मर्मत सम्भार गरिएको छ । खानीगाउँको शेर र लिमिठाना जोड्ने पुल नगरपालिकाको एक लाख लागतमा मर्मत गरिएको हो । २० वर्षअघि निर्माण भएको पुलमा काठको फलेका बिछ्याएको थियो । कारोबार दैनिकबाट