काठमाडौं। सडक डिभिजन दमौलीले सम्झौताअनुसार काम नगर्ने १६ वटा निर्माण कम्पनीसँग ठेक्का तोड्ने भएको छ। डिभिजनले बुधबार सूचना जारी गर्दै पटक पटक म्याद थप गर्दा पनि काम पुरा नगर्ने निर्माण कम्पनीसँग ठेक्का तोड्न तयारी गरिएको हो।
ठेक्का लिएर काम पुरा गर्न किन समय लागेको र किन पुरा नगरेको भन्ने स्पष्टीकरण समेत पेस गर्न सम्बद्ध निर्माण कम्पनीलाई एक साताको समय तोकेको छ।
यसरी तोकिएको समयमा सडक र पुलको निर्माणका काम नगरेका कम्पनीहरुमा समुन्द्र कन्स्ट्रक्सन, इन्द्रपुरी कन्स्ट्रक्सन, सुजि निर्माण सेवा, त्रिवेणी निर्माण सेवा, आयुस एण्ड अनुस कन्स्ट्रक्सन एण्ड सप्लायर्स छन्।
यसैगरी पृथ्वी राजमार्ग र डुम्रे– बेंसीसहरको सडक विस्तार तथा मर्मत गरिरहेका मालिका कन्स्ट्रक्सन, जीएस कन्स्ट्रक्सन, खड्गदेवी कन्स्ट्रक्सन, सुलक्ष्मी कन्स्ट्रक्सन, कान्छाराम कन्स्ट्रक्सन, देवी रमन कन्स्ट्रक्सन, लक्ष्मी कन्स्ट्रक्सन, अनुपमा निर्माण सेवा, अन्नपूर्ण निर्माण सेवा, मृत संजीवनी निर्माण सेवा र कपिल देउ कन्स्ट्रक्सन कम्पनी छन्।
यी कम्पनीले विभिन्न सडक विस्तार, मर्मत र पुलको काम ठेक्का लिएर सम्झौताअनुसारको समयावधिमा पुरा नगरेको डिभिजनले जनाएको छ। निर्माण कम्पनीहरुले पृथ्वी राजमार्ग, डुम्रे–बेंसीसहर सडक, खैरनी पुल, बन्दीपुर सडक, मादी करिडोर, आँबुखैरेनी(गोरखा सडक, त्रिशूली पुल लगायतका २३ वटा योजनाहरुको काम अलपत्र पारेका छन्।