काठमाडाैं। सहरी विकास मन्त्रालयको प्रशासन समूहका सहसचिव तथा प्रशासन महाशाखा प्रमुख प्रदीप परियारको अपरिपक्वताको कारण सहरी विकास मन्त्रालय भद्रोगाल अवस्थामा पुगेको छ ।प्राविधिक र विकासे मन्त्रालयको रूपमा चिनिएको सहरीमा प्रशासन समूहका परियार हाबी हुन खोजेका छन्, यसबाट प्राविधिक समूहका सहसचिवहरू निरुत्साहित भएका छन् ।
३५ जना सहसचिवको दरबन्दी रहको सहरीमा २ वटा विभाग (सहरी विकास तथा भवन विभाग र स्थानीय पूर्वाधार विभाग) तथा ९ वटा निकाय छन् ।काठमाडौं उपत्यका विकास प्राधिकरण, नगर विकास कोष, राष्ट्रिय आवास कम्पनी, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र लगायत ९ वटा निकाय मन्त्रालयकै मातहत छन् ।
यी निकायलाई प्रभावकारी रूपमा काम गराउन मन्त्रालयमा प्रशासन हेर्ने सहसचिव अनुभवी चाहिन्छ तर परियारमा प्रशासन क्षेत्रमा अनुभवको कमी भएको बताइन्छ ।मन्त्रालय स्रोतले भन्यो, ‘अहिले सहरीमा प्रशासन समूहका सहसचिवको काम भनेको कार्यकक्षमा सिसिटिभीको मोनिटर अगाडि बस्ने, मन्त्रालयमा कुन व्यक्ति आयो, कुन आएन, कसले कसलाई भेट्यो, कसले आफूलाई भेट्न मानेन, को भेट्न आयो, यस्ता विषयमा सिसिटिभी हेरेर दिन बिताउने गर्छन् ।
मन्त्रालय तथा मन्त्रालय मातहतका निकायहरूमा संगठन तथा व्यवस्थापन (ओएनएम) तथा विभिन्न समितिका संयोजक भई गरेका कामहरू सम्पन्न गर्नुको सट्टा कहाँ कसलाई सरुवा गराउँदा आफूलाई फाइदा हुने गर्छ त्यसमा मात्र ध्यान केन्द्रित गर्ने गरेको आरोप परियारमाथि लागेको छ । यसबाट मन्त्रालयले गर्नुपर्ने महत्त्वपूर्ण कामहरू ओझेलमा पर्ने गरेका छन् । स्रोतले भन्यो, 'मन्त्रालयको काम गर्न परियारको ध्यान जान्न ।'
केही हप्ता अगाडि मन्त्रालयका ४ जना वरिष्ठ सहसचिवहरूलाई ४ महिनाको तलब नै नदिँदा परियारले निकै गाली खाएका थिए । मन्त्रालयका एक कर्मचारी भन्छन्, ‘सानोतिनो कुरामा प्रतिसोध साध्ने बानी भएका परियार यती ठूलो मन्त्रालयमा प्रशासनको जिम्मेवारी चलाउन उपयुक्त व्यक्ति होइनन् । यस कारण मन्त्रालय भद्रगोल अवस्थामा पुगेको छ ।’
परियारमाथि सहरी विकास मन्त्रीको पिएसँग नजिक भएर मन्त्रालय मातहतका कर्मचारीहरूसँग आर्थिक लाभ लिई सरुवाको फायल उठाउने गरेको आरोप लाग्ने गरेको छ । पूर्वमुख्यसचिव शंकरदास बैरागी एउटै गाउँको भएको नाता जोडेर बैरागीको पालामा परियार पहुँचवाला मानिन्थे । स्रोत भन्छ, ‘बैरागीको आड भरोसामा परियारले आफूलाई मन नपरेका कर्मचारीहरू मन्त्रालयबाट सरुवा गराउँथे । त अहिले उनको शक्तिमा धमिरा लागेको मन्त्रालयका कर्मचारीहरू बताउँछन् । परियार २०७९ असार सहरी विकास मन्त्रालयमा सरुवा भई आएका हुन् ।
मन्त्रालयका अर्का एक कर्मचारी भन्छन्, ‘परियार मन्त्रालयबाट अन्य कार्यालयमा सरुवा भएमा मन्त्रालयको काम कारबाही प्रभावकारी मात्र हुने थिएन, मन्त्रालयले देखिने गरी परिणाम देखाउन सक्थ्यो ।’