काठमाडौं। संखुवासभाको भोटखोला गाउँपालिका–२ मा निर्माण हुने किमाथांका अरुण जलविद्युत आयोजना निर्माणका लागि चिनियाँ कम्पनी पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइनाले इच्छा देखाएको छ। आयोजना निर्माणका लागि चिनियाँ कम्पनीले विद्युत उत्पादन कम्पनी समक्ष प्रस्ताव गरेको हो।
आयोजनाका निर्माणका लागि भारतीय निजी कम्पनीहरु समेत इच्छुक छन्। चीनको सीमा नजिकको आयोजना भएकाले भारतीय कम्पनीलाई दिन नहुने कतिपयको ऊर्जा मन्त्रालयका अधिकारीहरुको तर्क छ।
हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टेमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडसँग संयुक्त रुपमा बनाउने गरि ७५६ मेगावाटको तमोर जलाशययुक्त जलविद्युत आयोजना पाएको कम्पनी नै चाइना पावर कम्पनी हाे। सरकारले यो आयोजना खोस्न १ महिनाको समय दिएर स्पष्टीकरण सोधेको छ।
आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) नेपाल विद्युत प्राधिकरण मातहतको एनईए इन्जिनियरिङ कम्पनी लिमिटेड तयार पारेको हो। वातावरणीय प्रभाव मूल्यांकन (इआईए) प्रतिवेदन तयार पारेर विद्युत विकास समक्ष पठाइसकेको छ। विद्युत विकास विभागले ऊर्जा मन्त्रालय पठाउने छ। ऊर्जा मन्त्रालयले वन तथा वातावरण मन्त्रालयमा स्वीकृतिका लागि पठाउनेछ।
लगानी जुटाउने मोडालिटी तय गर्न नसक्दा अध्ययन पूरा भएको आयोजना विद्युत उत्पादन कम्पनीले अघि बढाउन सकेको छैन्।
प्रस्तावित आयोजना पिकिङ रन अफ दि रिभर (अर्ध–जलाशय) प्रकृतिको हुनेछ। सम्भाव्यता अध्ययन प्रतिवेदन अनुसार आयोजनाको ग्रस हेड ३७९.५२ र नेट हेड ३६७.५५ मिटर हुनेछ। वार्षिक सरदर २५५१.१६ गिगावाट आवर उत्पादन गर्न सक्छ। वार्षिक पिक इनर्जी ४८५.९३ गिगावाट घण्टा र वार्षिक अफ पिक इनर्जी २७९.२८ गिगावाट आवर उत्पादन हुने अनुमान छ।
करिब ९३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।आयोजनाको प्रतिकिलोवाट लागत २ लाख ६ हजार ६०८ रुपैयाँ रहेको छ।
आयोजनाबाट उत्पादित विद्युत १८.५ किमी ४०० केभी प्रसारणलाइन निर्माण गरेर हैटार सबस्टेसन मार्फत राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिनेछ।