काठमाडौं। निर्माण सुरु भएको तीन वर्षपछि लुक्लामा नयाँ हेलिप्याड संचालनमा आउने भएको छ। भ्याटसहित ३२ करोड रुपैयाँमाथिको लागतमा तयार रहेको नयाँ हेलिप्याडमा यतिखेर मार्किङको काम मात्र बाँकी रहेको तेन्जिङ हिलारी विमानस्थल प्रमुख द्वारीका अछामीले जानकारी दिएका छन्।
यसै साताभित्र मार्किङको काम सक्ने योजना रहेको छ। साथै प्राविधिक टोली आएसँगै मार्किङको काम सुरु गर्ने उनले बताएका छन्। नयाँ हेलिप्याड संचालनमा आएसँगै रनवे अकुपेन्सी कम हुने भएको छ। योसँगै हेलिप्याड तल सारिएपछि एटिसीको नियमित काममा नोइज डिस्टर्बेन्स कम हुने देखिएको प्रमुख अछामीले जानकारी दिएका छन्।
तयसैगरी हेलिकोप्टर मुभमेन्ट धेरै भएको अवस्थामा मात्र पुरानो हेलिप्याड प्रयोग गर्ने योजना रहेको उनले जानकारी दिएका हुन्। हाल यो विमानस्थलमा दैनिक फिक्स्ड विङतर्फ २० वटा र रोटर विङतर्फ २० वटासम्म उडान अवतरण हुँदै आएको छ। पर्यटकीय सिजन सुरु भएसँगै पछिल्लो डेढ महिनायता रोटर र फिक्स विङमार्फत दैनिक करिब ५ सयजना आन्तरिक र वाह्य पर्यटकको आवगमन हुँदै आएको छ। लुक्ला हुँदै नाम्चे, स्याङ्बोचे, त्याङ्बोचे, फेरिचे, लोबुचे, गोरक्षेप, एभरेष्ट बेसक्याम्प, अमादब्लम बेसक्याम्प, कालापत्थर, कोङ्दे, थामे लगायत गन्तब्यमा घुम्न आउने पर्यटकको चाप उल्लेख्य रहेको उनले बताएका छन्।
पहिला यस गन्तब्यमा विदेशी पर्यटकको मात्र उल्लेख्य देखिन्थे तर हाल अहिले नेपाली र विदेशी पर्यटकको फ्लो उस्तै रहेको छ। हाल सो क्षेत्रमा नेपाली र दक्षिण भारतीय यात्रु धेरै देखिएका छन्। साथै कुनै कुनै दिन दैनिक एक सय वटाभन्दा बढी फ्लाइट मुभमेन्ट हुँदै आएको उनले जानकारी गराएका छन्। त्यस्तै प्राधिकरणले आफ्नो जग्गासँगै निजी जग्गा लिएर नयाँ हेलिप्याड निर्माण गरेको र हाल संचालनमा आइरहेको हेलिप्याडमा ५ वटा पार्किङ क्षमता रहेको उनले बताएका छन्।
९ हजार फिट उचाईमा रहेको लुक्ला विमानस्थलमा संचालन हुँदै आएको हेलिप्याडमा पर्यटक आउने पिक सिजनमा पार्किङको समस्या आएपछि प्राधिकरणले विमानस्थल परिसरनजिकै नयाँ हेलिप्याड निर्माण गरेर संचालनमा ल्याउन लागेको हो। उक्त विमानस्थलमा रोटर विङ्सअन्तर्गत एयर डाइनेस्टी, प्रभु, श्री, सिम्रिक, मनाङ, कैलाश, अल्टिट्युड, मुस्ताङ लगायत विभिन्न हेलिकोप्टर कम्पनीले चार्टर, रेस्क्यु लगायतका उडान गर्दै आएका छन्। यसैगरी फिक्स विङतर्फ तारा, समिट, सिता लगायत वायुसेवा कम्पनीले नियमित उडान गर्दै आएका छन्।
नयाँ हेलिप्याड मार्किङका लागि आइतबार नागरिक उड्डयन प्राधिकरणअन्तर्गत हवाई सुरक्षा विभाग र हेलिकोप्टर कम्पनीका प्रतिनिधि लुक्ला गएको जानकारी गराइएको छ।