कैलाली। सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा प्रादेशिक गौरवका आयोजनाका रूपमा सडक निर्माणको काम भइरहेको छ। विकट क्षेत्रलाई सडक सञ्जालसँग जोड्ने उद्देश्यका साथ प्रत्येक जिल्लामा आर्थिक वर्ष २०७७/७८ बाट प्रादेशिक गौरवका सडक निर्माणको कार्य अगाडि बढाइएको हो।
प्रादेशिक गौरवका सडकमध्ये केहीको प्रथम चरण सम्पन्न र केही कालोपत्रेको अन्तिम चरणमा छन्। प्रदेशको पहाडी क्षेत्रमा सडक समस्या छ। कतिपय विकट क्षेत्र अझै पनि सडक सञ्जालसँग जोडिएका छैनन्। त्यहाँका सर्वसाधारणलाई एक ठाउँबाट अर्को ठाउँसम्म आउजाउ गर्न समस्या छ। सडक सञ्जाल नहुँदा सास्ती भोगिरहेका क्षेत्रका जनताको जीवन सहज बनाउने लक्ष्यका साथ प्रदेश सरकारले प्रादेशिक गौरवको आयोजना अन्तर्गत नौ वटै जिल्लामा एउटा एउटा सडक बनाउन लागेको हो। बहुवर्षीय योजनाका रूपमा ती सडक निर्माणका कामहरू भइरहेको छ।
कैलालीमा भजनीको छोटी भन्सारदेखि खेमडी–ठुलीगासम्म ८० किलोमिटर सडकको पाँच किलोमिटरमा ग्राभेल गरिएको छ। ३८ किलोमिटरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको छ भने तीन किलोमिटरमा पक्की सडक निर्माण भइरहेको छ।
विसं २०७७ साउन १८ गते प्रादेशिक गौरवको यो सडकको ठेक्का सम्झौता भएको थियो। २०७९ माघ १८ गते निर्माण सम्पन्न हुनुपर्नेमा कोरोना महामारीका कारण काम हुन सकेन। आगामी साउन ४ सम्मका लागि म्याद थप भएको छ। सात करोड ७४ लाख ६८ हजार रुपियाँमा केएस टेडी मणिलेक जेभीले निर्माणको काम गरिरहेको छ। यो सडक बनेमा जिल्लाको चुरे क्षेत्रको केही भूभाग सडक सञ्जालसँग जोडिने छ।
यसैगरी दक्षिणी क्षेत्रका जनतालाई पनि हुलाकी राजमार्ग र पूर्वपश्चिम महेन्द्र राजमार्गसम्म पुग्न सहज हुने छ। कञ्चनपुरमा बेलौरी–कलुवापुर–नाइल–बुडरमा अर्को सडक बन्दै छ। ४३ किलोमिटर यो सडकको १७.४३ किलोमिटरमा कालोपत्रेको काम सम्पन्न भएको भौतिक पूर्वाधार विकास मन्त्रालयले जानकारी दिएको छ। यसै गरी ९.१ किलोमिटरमा सडक निर्माणको काम चलिरहेको छ। यो सडकको ३८ किलोमिटरको मात्रै विस्तृत परियोजना विवरण (डिपीआर) बनेको थियो।
यस्तै डोटीमा सहजपुर–बोगटान–दिपायल प्रादेशिक सडक निर्माण भइरहेको छ। छिडिखान–अकरकाँडा खण्डको १२ किलोमिटर र रानागाउँ बायल सडकखण्डको १० किलोमिटर गरी २२ किलोमिटर सडक निर्माण चलिरहेको मन्त्रालयले जनाएको छ। बझाङमा प्रादेशिक गौरवका आयोजनाका रूपमा दिपायल–साइपाल सडक निर्माण अगाडि बढाइएको छ। यो सडकको १४ किलोमिटरमा निर्माण चलिरहेको छ। बाजुरामा खप्तड–मार्तडी सडक प्रादेशिक गौरवको अर्को आयोजना हो। यो सडकको २४ किलोमिटर अध्ययन भएको छ। त्यसमध्ये १५ किलोमिटरमा ठेक्काको कार्य भइरहेको जनाइएको छ।
बैतडीमा सदबाज–श्रीभावर–हाट दार्चुला प्रादेशिक गौरव आयोजना सडकको १५ किलोमिटरमा कालोपत्रेको काम भइरहेको छ। कालोपत्रे अन्तिम चरणमा पुगेको जनाइएको छ। यस्तै अछाममा चिसापानी–ऋषिदह–बडीमालिका प्रादेशिक गौरवको सडकको ४८ किलोमिटर अध्ययन भएको छ। त्यसमध्ये २४ किलोमिटर ठेक्का कार्यान्वयनका क्रममा रहेको मन्त्रालयले जानकारी दिएको छ। डडेलधुरामा दैजी–पोखरा–दुङगाड–बझाङ जोड्ने सडकलाई प्रादेशिक गौरवको सडकका रूपमा अगाडि बढाइएको छ। यो सडकको ३३ किलोमिटरमा निर्माणको काम भइरहेको छ। पोखरा–बेलापुर खण्डमा १० किलोमिटर, गाइबादे–लिप्ना खण्डको १२ किलोमिटर, सलोन–चिर्किट्टे खण्डमा छ किलोमिटर र जोगबुढा–लिप्ना सडकखण्डमा पाँच किलोमिटरमा निर्माण कार्य भइरहेको छ। दार्चुलामा प्रादेशिक गौरवको आयोजना हो, देउथा–खार–खलङ्गा–खण्डेश्वरी सडक। यसको ६० किलोमिटरमा विस्तृत इन्जिनियरिङ अध्ययन भएको छ । त्यसमध्ये छ किलोमिटरमा पक्की सडक निर्माण भएको जनाइएको छ। यसै गरी १८ किलोमिटरमा निर्माण कार्य भइरहेको छ। सबै सडकको निर्माण अगाडि बढिरहेको मन्त्रालयका सूचना अधिकारी सुरेशराज भट्टले बताए।
स्रोत: गोरखापत्र