तनहुँ। नेपाल विद्युत् प्राधिकारणको पूर्ण स्वामित्वको तनहुँ जलविद्युत आयोजनाले १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजना पनि निर्माण गर्ने भएको छ ।
१४० मेगावाट क्षमता भएको तनहुँ जलविद्युत आयोजना (हाइड्रोपावर लिमिटेड) निर्माणसँगै कम्पनीले तल्लो सेती जलविद्युत आयोजना निर्माणका लागि काम अगाडि बढाएको छ ।
कम्पनीले आयोजनाको १४० मिटर अग्लो कंक्रिट बाँधबाट प्राप्त हुने सेती नदीको रेगुलेटेड प्रवाह तथा मादी नदीको थप प्रवाह समेत प्रयोग गर्न करिब १८ किलोमिटर तल्लो तटीय क्षेत्रमा तल्लो सेती आयोजना निर्माण प्रस्ताव गरेको आयोजनाका इन्जिनियर सुमन श्रेष्ठले बताए ।
‘बन्दीपुर गाउँपालिका–६ तथा देवघाट गाउँपालिका–३ को सिमान सराङघाट नजिक २१३ मिटर लम्बाइ, ३२ मिटर उचाइ र २ सय मिटर चौडाइ भएको बाँध (ब्यारेज) निर्माण गरी सेती नदीको पानीलाई फर्काइने छ’, उनले भने, ‘यसरी फर्काइएको पानीलाई देवघाटको वडा नम्बर ३ र ४ हुँदै जाने ६।८ किलोमिटर लामो मुख्य सुरुङबाट विद्युतगृहसम्म पुर्याइने छ ।’
देवघाट–४ गाइघाटमा अर्धभूमिगत विद्युतगृहको निर्माण गरी विद्युत् उत्पादन गरिने उनले बताए । इन्जिनियर श्रेष्ठले भने, ‘उत्पादित विद्युतलाई तनहुँ जलविद्युत आयोजनाले निर्माण गरेको २२० केभी दमौली–नयाँ भरतपुर प्रसारण लाइनमा जोडी राष्ट्रिय विद्युत् प्रणालीमा समाहित गरिने छ । यसका लागि करिब २ किलोमिटर प्रसारण लाइनको निर्माण गर्नु पर्छ ।’ अर्धजलाशययुक्त तल्लो सेती आयोजनाको करिब १२ किलोमिटर लामो जलाशय माथिल्लो तटीय क्षेत्र अर्थात बाँधस्थलबाट सुँडेगाउँसम्म विस्तार हुने उनले बताए ।
यस्तै, तल्लो सेती जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) अध्ययनका लागि सार्वजनिक सुनुवाइ समेत सम्पन्न गरिएको छ । आयोजननाको परामर्शदाताले तयार पारेको ईआईए अध्ययनको मस्यौदा बमोजिम बन्दीपुर–६ खहरेमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरी आयोजनाको प्रभावित क्षेत्र, निर्माणबाट त्यस क्षेत्रमा पर्नसक्ने भौतिक, जैविक, सामाजिक, सांस्कृतिक, आर्थिक प्रभावहरु र त्यसका न्यूनिकरणका उपायहरुका विषयमा सरोकारवालाहरुलाई जानकारी दिइएको छ ।
आयोजनाबाट ऋषिङ गाउँपालिकाको वडा नम्बर १ र ३, बन्दिपुर गाउँपालिकाको ६, देवघाट गाउँपालिकाको वडा नम्बर २, ३ र ४, आँबुखैरनी गाउँपालिकाको वडा नम्बर ५ र ६, व्यास नगरपालिको वडा नम्बर १३ र १४ र चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर २९ प्रभावित हुने इन्जिनियर श्रेष्ठले बताए । आयोजनाका लागि करिब ९ हेक्टर निजी जग्गा अधिग्रहण गर्नुपर्छ भने १८५ घरधुरी प्रभावित हुने छन् ।
जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले आयोजनाको निर्माणबाट प्राप्त हुने लाभको हिस्सा स्थानीयले पनि पाउनुपर्ने बताए । उनले भने, ‘विकासको ढोकाको रुपमा रहेको यस आयोजनालाई स्थानीयका मागलाई सम्बोधन गर्दै जतिसक्दो छिट्टो कार्यान्वयनमा लैजानु पर्छ ।’ आयोजनाबाट प्रभावित हुने बुद्धसिंह मार्गको वैकल्पिक व्यवस्थाका विषयमा अहिले नै निक्र्यौल गर्नुपर्ने उनले बताए ।
यस्तै, विद्युत आपूर्तिका लागि लोड सेन्टरबाट नजिकै रहेको र सस्तो यस आयोजनालाई कार्यान्वयनमा लैजान पालिकाहरुको सहयोग रहने व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेले बताए । उनले भने, ‘आयोजनाबाट भौतिक तथा मानसिक रुपमा प्रभावित भएका बासिन्दालाई सम्बोधन गर्दै बाँध निर्माणबाट तल्लो तटीय क्षेत्रमा पर्ने प्रभावको विस्तृत रुपमा अध्ययन गरी आयोजना अगाडि बढाउनु पर्छ ।’
आयोजनाले जग्गा अधिग्रहणका विषयमा प्रष्ट पार्नुपर्ने र आगामी दिनमा समस्य नआउने गरी अधिग्रहण गरिने जग्गाको मुआब्जा तथा क्षतिपूर्ति निर्धाण गर्नुपर्ने बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । उनले भने, ‘आयोजना निर्माणसँगै प्रभावित बासिन्दालाई रोजगारीको व्यवस्था र पछिका दिनमा अवरोध नआउनेगरी स्थानीयको जायज मागलार्य सम्बोधन गर्नुपर्छ ।’
यस्तै, तल्लो सेती जलविद्युत परियोजना सरोकार समितिका अध्यक्ष सिद्धबहादुर थापाले आयोजनासँग विभिन्न १८ वटा माग प्रस्तुत गरेका थिए । स्थानीयहरुले अधिग्रहण गरिने जग्गाको मुआब्जा न्यायोचित हुनुपर्ने, वर्षौंदेखि भोगचलन गर्दै आएको ऐलानी जग्गाको क्षतिपूर्तिका विषयमा प्रष्टता हुनु पर्ने, रोजगारीमा प्रत्यक्ष प्रभावितलाई प्राथमिकता दिनुपर्ने, दाहसंस्कार घाटको व्यवस्थापन गर्नु पर्ने लगायतका माग राखेका थिए ।
तल्लो सेती आयोजनाको एसियाली विकास बैंकको ३५ लाख अमेरिकी डलर अनुदान सहयोगबाट पररामर्शदाता वाप्कोस भारतरनिप्पन कोई जापान जेभीले आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन तथा बोलपत्र सम्बन्धी कागजातहरु तयारीको काम अन्तिम चरणमा पुर्याइएको छ ।
२०८१ सालमा सुरु गरी ५ वर्षभित्रमा सक्ने लक्ष्य रहेको आयोजनाबाट वार्षिक रुपमा ५२ करोड युनिट विद्युत् उत्पादन हुने जनाइएको छ । आयोजनाको अनुमानित लागि २२ करोड ७० लाख अमेरिकी डलर ९करिब ३० अर्ब रुपैयाँ० रहेको छ । कान्तिपुरबाट