काठमाडौं। निर्माण क्षेत्रमा भएका विभिन्न समस्याका कारण दिनप्रतिदिन निर्माण व्यवासायी र यस क्षेत्रसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जोडिएका व्यक्ति तथा व्यवसायीहरु समस्यामा पर्दै गईरहेका छन्। निर्माण क्षेत्रमा हुने प्राविधिक, सामाजिक र आर्थिक समस्याका कारण दुख पाउनेको संख्या दिनानुदिन बढ्दै गईरहेको छ। यसै बिच सबकन्ट्रयाक्टरको रुपमा काम गरेका एक निर्माण व्यवसायीले आफुले काम गरेको भुक्तानी मुख्य निर्माण कम्पनीले नदिएको भन्दै निर्माण व्यवसायी महासंघमा आफ्नो भुक्तानी उठाईदिन निवेदन दिएका छन्। आशिका निर्माण सेवाका संचालक निर्माण व्यवसायी अच्यूत सापकोटाले नागर्जुन कन्सट्रक्सनले ठेक्का लगाएर करोडौं भुक्तानी नदिएको आरोप लगाउदै उक्त निवेदन दिएका हुन्।
जेठ १० गते महासंघको सचिवालयलाई लेखिएको पत्रमा भनिएको छ, ‘म अच्यूत सापकोटा र नागर्जुन कन्सट्रक्सनबीच २०७५ साल पुसमा कोल्पुखोला पुल निर्माणको लागी सम्झौता भएको थियो ।’ सम्झौताअनुसार सापकोटाको कम्पनी आसिका निर्माण सेवाले नागार्जुन कन्स्ट्रक्सनबाट ३०–३० मिटरको कोल्पुखोला पुल निर्माणको सबकन्ट्रयाक पाएको पत्रमा लेखिएको छ। काम सुरु गर्न जादा पुलको लम्बाई २५–३२.५ हुन गएको र सोहीअनुसारको डिजाइन दिएर काम लगाएको सापकोटाले महासंघलाई लेखेको पत्रमा बताएका छन्र। काम सुरु गरेर करिब ३ करोड ७५ लाख बराबरको काम सम्पन्न गरिसकेपछि पुलको डिजाइनमा समस्या देखिएको भन्दै नागर्जुन कन्सट्रक्सनका संचालक गोकर्ण पण्डितले काम रोक्न लगाई भुक्तानी नदिएको आरोपपत्रमा छ। पत्रमा लेखिएको छ, ‘काम सञ्चालन भएको अवधिसम्मको बिलअनुसार ३ करोड ७५ हजार ६३ हजार रुपैयाँ पाउनुपर्ने छ।’ उक्त रकम २६ महिनासम्म पनि नदिएको र भुक्तानीका लागि अनुरोध गर्दा पुलिस केश गर्ने भनेर धम्क्याएको समेत बताएका छन्।
आफ्नो उठ्न पर्ने रकम ७ दिनभित्रमा उठाइदिन महासंघलाई अनुरोध गर्दै सापकोटाले लेखेका छन्, ‘अन्यथा महासंघको प्राङ्गणमा आत्मदाह गर्नेछु।’
आफ्नो रकम उठाईदिन अनसरोध गर्दै लेखिएको निवेदन सेयर गर्दै उनले हिजो आफ्नो फेसबुक मा अहिले सम्म पनि आफुले पाउनु् पर्ने रकम नपाएको भन्दै लेखेका छन्ः
"आखिरी मा मृत्यु अगाडि न्याय नपाउने यो देशमा पउँच पावर र पैसाको अगाडि मेरो केहि लागेन बाकि कुरा सबै उल्लेख गरेको छु, गोकर्ण पण्डितलाई अझ बडि शाहश मिलोस अझै धेरै बुध्दि मिलोस मान्छे ठग्ने, मान्छे मार्ने प्रेरणा मिलोस भगवानले अझ धेरै साहस प्रदान गरुन म रहु या नरहु मैले लिनुपर्ने रकम हाल सम्म पनि नदिएकोले महिले ज–जस्लाई रकम तिर्न बाकि छ सबै गोकर्ण पण्डितले तिर्ने छ र मेरो घर परिवारको समेत जिम्मा लिनेछ एक दिन भगवानले पक्कै पनि हेर्ने छन मैले अब व्यवहार थेग्न नसक्ने भयर यस्तो निर्णय लिदै छु मलाई माफ गर्नु होला भगवान्"
निर्माण क्षेत्रमा आईपर्ने विभिन्न प्राविधिक समस्या मुख्य गरी पुल निर्माणको डिजाईनमा हुने समस्या र परिवर्तनका कारण विभिन्न निर्माण व्यवसायीहरु फस्दै गइरहेका छन्। प्राविधिक समस्या मात्र नभई नेपाल सरकार मातहतका सार्वजानिक निकायले ठेक्का लगाउनु पूर्व गर्नु पर्ने साइट क्लियरेन्स, बजेटको सुनिस्चितता लगाएतका अन्य पूर्वाधारहरु तयार नगरी ठेक्का लगाउदा निर्माणको क्रममा विभिन्न समस्याहरु आइपर्ने र मुख्य निर्माण कम्पनीले भुक्तानी नपाउदा मुख्य निर्माण कम्पनी सँग सम्झौता गरी निर्माण कार्य गर्ने सबकन्ट्रयाक्टर, पेटी ठेकेदार, सप्लायर्स, कर्मचारी लगाएत निर्माण सँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जोडिएका सम्पूर्ण व्यवसायी तथा व्यक्तिले समस्या झेल्दै आउनु परेको छ। यस्ता समस्याको विभिन्न समयमा विभिन्न संचार माध्यममा आइरहेका समाचारलाई सम्बन्धित निकायले बेवास्ता गर्दा नेपालको निर्माण क्षेत्र बद्नाम हुँदै गइरहेको छ।