काठमाडौं। वर्षायाममा सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्र निकै जोखिमयुक्त बन्ने गर्दछ । पानी परेको समयमा यहाँ पहिरो खस्ने समस्या यथावत छ । माथिबाट ठूलाठूला ढुंगासहितको पहिरो खस्दा थुपै्र यात्रुको ज्यानसमेत गइसकेको छ ।
उत्तिकै मात्रामा सवारीसाधनमा क्षति पुगेको छ । पटकपटक सडक अवरुद्ध हुँदा यात्रुलाई हैरानी हुने गरेको छ । सिद्धबाबा क्षेत्रमा पहिरो खस्ने समस्या भएपछि यसको विकल्पमा पाल्पाको भुम्सादेखि रुपन्देहीको चरंगे हुँदै बुटवलको धागो कारखाना निस्कने गरी वैकल्पिक सडक निर्माण थालिएको थियो ।
सिद्धबाबा क्षेत्रमा पहिरोको जोखिम हुँदा बाइपास सडक प्रयोग गर्न सकियोस् भनेर झुम्सा–चरंगे धागो कारखाना सडक निर्माण सुरु भएको हो । प्रदेश सरकार स्थापना भएपछि आर्थिक वर्ष २०७५।०७६ मा १० करोड बजेट छुट्याएर सडक निर्माण थालिएको थियो । तर सडक निर्माणले खासै गतिलिन सकेको छैन । अर्कोतर्फ सडक तयार भई ग्राभेल गरेको ठाउँमा पनि भत्किन थालेको छ ।
गत शुक्रबार र शनिबार आएको वर्षाले पनि यो सडकका ठाउँठाउँमा पहिरो खसेको छ । त्यस्तै भत्किएर सडकमा खाल्डाखुल्डी परेको छ । अझ केही दिन पानी परेमा आवतजावत गर्न समस्या हुने देवदह–१० मुढाबासका स्थानीय जितबहादुर थापाले बताए । “हिजो अस्तिको वर्षाले पनि बाटो बिगारेको छ । अब एक दुई पटक आयो भने मोटरसाइकल पनि हिँड्न नसक्ने अवस्था हुन्छ,” उनले भने, “ग्राभेल गरेको ठाउँमा पनि बीचबाट पानी बगेर सडक भत्किएको छ।”
केही महिनाअघिको वर्षाले समेत यहाँको सडक भत्काएको थियो । सडक किनारमा बनाएको नालीसमेत पुरिएको छ । पुरेको नाली सफा नहुँदा सडकमै पानी बगेर बाटो बिग्रने गरेको थापाले सुनाए । सडक बिग्रँदा देवदह–१० मुढाबासका १२१ घर परिवारलाई समस्या भएको उनको भनाइ छ । देवदह-१० का वडाध्यक्ष एकबहादुर सुनारले सडक निर्माणका लागि एकमुष्ट काम नहुँदा समस्या भएको बताए ।
“एकमुष्ट काम भए सडक मजबुद हुन्थ्यो । थोरैथोरै बजेट आउँछ । चुबुरचुबुर काम हुँदा सडक ढिला बन्ने र बनेका सडक पनि भत्किने समस्या भएको छ,” उनले भने । पूर्वपश्चिम राजमार्गको धागो कारखानादेखि चरंगे हुँदै पाल्पाको झुम्सासम्म कुल २२ किलोमिटर लम्बाइको सडकका लागि काम सुरु भएको हो । त्यसमध्ये १३ किलोमिटर रुपन्देही खण्ड र बाँकी नौ किलोमिटर पाल्पा खण्डमा पर्दछ ।
रुपन्देही खण्डको ६ किलोमिटर क्षेत्र कालोपत्रे भएको छ । यो मैदानी क्षेत्र हो । बाँकी खण्ड पहाडी बाटो हो । पहाडी बाटो भएको केही ठाउँमा ग्राभेलसमेत गरिएको छ । केही निर्माणको काम बाँकी छ । तर ग्राभेल भएको ठाउँमा समेत बाटो भत्किने समस्या छ । भू–बनोट कमजोर भएकाले सडक भत्किने समस्या भएको प्रदेश सरकार अन्तर्गतको सडक पूर्वाधार कार्यालय रुपन्देहीका इन्जिनियर हितेन्द्र रायमाझीले बताए ।
“त्यहाँको माटोको बनोट एकदम कमजोर छ । सिद्धबाबाकै जस्तो कमजोर भू–बनोट हो । पानी परेपछि माटो गल्ने र बगाउने खालको छ,” उनले भने, “सडक बनाउँदा ग्याबिन र रिटेनिङ वालमा पनि बढी खर्च गर्नुपर्छ । बजेटको सीमितताभित्र रहेर काम गर्नुपर्ने बाध्यता छ ।” चरंगे-झुम्सा सडक अध्ययनबिना नै निर्माणको काम सुरु हुँदा भत्किने जस्ता समस्या देखापरेको हो ।
भू–बनोट कम्जोर भएकाले विस्तृत अध्ययन गरेर सडक बनाउनुपर्ने इन्जिनियर रायमाझीले बताए । अब अध्ययन गराएर काम गर्न मौखिक निर्देशन आएको उनले सुनाए । रुपन्देहीको तुलनामा पाल्पाको क्षेत्रमा पहिरो र सडक बिग्रने समस्या कम छ । “पहिले पहिलेका वर्षाले बाटो बिग्रने गरेको थियो । गतवर्ष र यो वर्षा त्यस्तो समस्या देखिएन,” सडक पूर्वाधार कार्यालय पाल्पाका प्रमुख अरुण गुप्ताले भने ।
पाल्पामा पर्ने सडकमध्ये साढे पाँच किलोमिटर ग्राभेल सकिएको र चार किलोमिटर पक्की नाली बनेको उनले बताए । आगामी आर्थिक वर्षमा सडकमा ग्राभेल तथा नाली निर्माण सक्ने गुप्ताको भनाइ छ । झुम्सा-चरंगे सडकका लागि आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि पाल्पा खण्डतर्फ तीन करोड र रुपन्देही खण्डतर्फ साढे दुई करोड रुपैयाँ विनियोजन भएको छ ।
प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता भीमार्जुन पाण्डेले यो सडकका लागि पर्याप्त बजेट विनियोजन गर्न नसकिएको भन्दै आगामी बजेटलाई बहुवर्षीय बनाएर काम गर्ने बताए । “पाल्पातिरको बहुवर्षीय करिब करिब सकियो । अहिले विनियोजन भएको बजेटले आगामी वर्ष रुपन्देहीतिरको बहुवर्षीय गर्न सकियो भने त्यही बहुवर्षीय आयोजनाबाट कम्तीमा गाडी चल्ने बनाउन सकिन्छ,” उनले भने । कारोबार दैनिकबाट