सिन्धुपाल्चोक। भोटेकोशी गाउँपालिकाको प्रशासनीक भवन निर्माण सम्पन्न भएको छ। नवनिर्मित भवनको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बिहीबार उद्घाटन गरेका हुन्।
जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठले सिन्धुपाल्चोक जिल्लाका अधिकांश स्थानीय तहको प्रशासनिक भवन, स्वास्थ्य भवन, वडा भवनमा जिससले साझेदारीमा बजेट प्रदान गरेको बताए।
भवन उद्घाटन गर्दै मन्त्री बस्नेतले जनप्रतिनिधिले सबै जनताको अभिभावक भएर काम गर्नुपर्ने बताए। उनले जनताका आवश्यकताका विषयमा पारदर्शी रूपमा गुणस्तरीय र परिणाममुखी काम गर्न जनप्रतिनिधिलाई आग्रह गरे।
प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद न्यौपानेले सुविधासम्पन्न भवनबाट गुणस्तरीय सेवा प्रदान गर्न आग्रह गरे। भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङनृर्पु शेर्पाले जिल्ला समन्वय समितिको तीन करोड र बाँकी भोटेकोशी गाउँपालिकाको गरी कुल छ करोड ८४ लाख आठ हजार ३२६ को लागतमा उक्त भवन बनेको जानकारी दिए। नयाँ भवनबाट गाउँपालिकावासीलाई प्रभावकारी सेवा दिने प्रतिबद्धता समेत उनले जनाए।
सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये मेलम्ची, चौतारा, साँगाचोकगढी र बाह्रबिसे नगरपालिका तथा हेलम्बु, पाँचपोखरी थाङपाल, इन्द्रावती, जुगल, बलेफी, लिसङ्खुपाखर, त्रिपुरासुन्दरी र भोटेकोशी गाउँपालिकाले स्थायी केन्द्र तोकेर आफ्नै प्रशासनिक भवन निर्माण गरी सेवा प्रवाह गरिरहेका छन् ।