दाङ। राप्ती नदीमा कुलो खन्ने नाममा नदीजन्य पदार्थ उत्खनन् गर्दा लाखौंको सेटिङ भएको खुलेको छ। नदीबाट ढुंगा उत्खनन्का लागि ‘सेटिङ मिलाउन’ जिल्लाका प्रशासन, सुरक्षा प्रमुख, जनप्रतिनिधि र पत्रकारसम्मले लाखौं रकम घुस लिएको आरोप लागेको हो।
जेठ महिनाको अन्तिमतिर राप्ती गाउँपालिकाले कुलो खन्ने नाममा राप्ती नदी उत्खनन् गर्न अनुमति दिएको थियो । उत्खनन्कै ठेक्कामा संलग्न व्यक्ति प्रकाश शाहीले प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरीका एसपी, लमहीका इन्स्पेक्टर र भालुबाङ प्रहरी, गढवाका घुमुवा, जिल्लास्थित राष्ट्रिय अनुसन्धान, गढवा गाउँपालिका–१, राप्ती गाउँपालिका र त्यहाँ कार्यरत कर्मचारी र भालुबाङस्थित तीनजना पत्रकारलाई रकम बुझाएको गम्भीर आरोप लागेको छ।
गत जेठ महिनामा कुलो सरसफाइको नाममा उत्खनन् हुँदा समुदायस्तरबाट विरोध गरेका थिए। तर किसानको समस्या देखाएर उत्खनन् गर्न राप्ती गाउँपालिकाले अनन्त कन्स्ट्रक्सन राप्ती–७ (ज्ञानु केसी, पवनकुमार जिसी, वसन्त कुँवर र प्रकाश शाही) लाई उत्खनन् सहमति दिएको थियो । ठेकेदार चार जनामध्येका एक प्रकाश शाहीले बिहीबार राति आफ्नो फेसबुकमा जिल्लाका उच्च निकायका अधिकारीसहितलाई सेटिङका लागि रकम दिएको आफैंले पोष्ट गरेका छन्।
फेसबुक पोष्टमा राखिएको सामग्रीमा उनले जिल्लाका प्रहरी प्रमुखलाई तीन लाख, प्रमुख जिल्ला अधिकारीलाई एक लाख, भालुबाङ प्रहरीलाई एक लाख २५ हजार, राप्ती गाउँपालिका कार्यालयलाई पाँच लाख ४५ हजार, सशस्त्रको एसपीलाई एक लाख, लमहीका इन्स्पेक्टरलाई ४० हजार, जिल्लाको अनुसन्धान विभागलाई ३५ हजार, बाबुराम गढवा वडाध्यक्षलाई ५९ हजार सात सय, सन्तोषकुमार गुप्तालाई २५ हजार, विदुर एमसीलाई १० हजार, पत्रकार घनश्यामलाई १० हजार रकम बुझाएको देखिन्छ।
आरोपसहित सार्वजनिक गरिएको विवरणमा गाउँपालिकालाई राजश्व रकम २२ लाख दाखिला गरेको उल्लेख छ । सोही अनुरुप नै गाउँपालिकाले पनि नगद नौ लाख र बाँकी १३ लाख गरी २२ लाख राजश्व बुझेको पुष्टि गरेको छ । गाउँपालिकाले अनन्त कन्स्ट्रक्सन प्रालि राप्ती गाउँपालिका–७ लाई बढाबढ सूचनाको आधारमा उत्खनन् गर्न दिएको थियो । सात दिनको बढाबढको सूचना निकालेर ठेक्का लगाइएको थियो । २२ लाखको राजश्व तिरेर काम गर्न त्यतिनै रकम सेटिङ मिलाउन खर्च भएको देखाइएको छ । शाहीले फेसबुकमा लेखेका छन्,– ‘दाङका सिडियो, एसपी, राजनीतिक दलका नेता, वडाध्यक्ष, पत्रकार, पालिका कर्मचारी सबका सव यति भोको छन् । म बबुरो भ्रष्टाचारविरुद्धको अभियानमा छु । राप्ती गाउँपालिकाको क्षेत्रमा पर्ने प्रगन्ना कुलो सरसफाइको राजश्व तिरेर गरेको काममा व्यवसायीहरुले कहाँ–कहाँ कति बुझाए, निकायहरुले जनतालाई जवाफ दिनुपर्छ ।’
विवरणमा यस्ता धेरै व्यक्तिका नाम छन्, जसलाई रकम बुझेको आरोप लगाइएको छ तर रकम कसरी बुझे, के आधारमा बुझाइयो भन्ने केही खुलाइएको छैन । नयाँ युगबोध राष्ट्रिय दैनिकबाट