इन्दीप कोइराला
बारा। गत १० असारमा बाराको पचरौता नगरपालिकामा काम गरिरहेका कर्मचारीलाई गाली र धाकधम्की दिँदै केही मानिसले कार्यालयमा रहेको कम्प्युटर, प्रिन्टरलगायतका सामग्री तोडफोड गरेका थिए । नगरपालिकाले घटनालगतै प्रहरीलाई खबर गरेर घटनाको विवरण जानकारी गराएको थियो । त्यसपश्चात नगरपालिकाले उक्त घटनामा संग्लन रहेका व्यक्तिको पहिचान गरि ११ असारमा कारबाहीका लागि प्रहरीलाई पत्राचार समेत गरेको थियो ।
पालिकाले कर्मचारीहरुमा डर त्रास रहेको र कार्यालयमा भएको क्षतिपूर्तिका निम्ती तथा शान्ति सुरक्षाको व्यवस्था गर्न भनि घटनामा संलग्न सातजनाविरुद्ध किटानी उजुरीसहित कारबाहीको माग गरिएको थियो । घटनामा संलग्न पचरौता–२ का मनोज कुमार यादव, पचरौता–६ का मकबुल मिया अन्सारी, पचरौता–६ का प्रदीप चौरसिया, पचरौता–२ का मुनादेवी पासवान, पचरौता–५ का पानालालकुमार यादव, पचरौता–५ का मजिद मिया मन्सुरी र पचरौता–४ का रामबालकप्रसाद यादव रहेको दावीसहित प्रहरीमा उजुरी दिइएको थियो । तर, बारा प्रहरीले ती व्यक्तिहरुलाई पक्राउ गर्ने तथा कानुनको दायरामा ल्याउन कुनै कार्य नगरेपछि नगरपालिकाका कर्मचारी काम गर्न कार्यालय नआउने भएका छन् ।
नगरपालिकाले पटक–पटक बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक होविन्द्र बोगटीलाई जानकारी गराउँदासमेत उजुरी दर्ता नगरेपछि नगरपालिकाले मंगलबारदेखि स्वास्थ्यलगायत अत्यावश्यकसहित सबै सेवा प्रवाह बन्द गरेको छ । १० असारमा नगरपालिकाको कार्यालयमा भएको तोडफोड र कर्मचारीमाथि दुर्व्यवहार गर्ने व्यक्तिलाई कारवाही गर्न प्रहरीले चासो नदेखाएको भन्दै सेवा ठप्प पारेको नगरपालिकाले यसबारे सोमबार नै विज्ञप्ति जारी गरेर जानकारी गराएको थियो । तर, दोषी पक्राउ नपरेपछि मंगलबारबाट नगरपालिकाकाक कर्मचारी सेवा ठप्प पारेर विरोधमा उत्रिएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशकुमार मिश्रले कार्यालयमा काम गर्ने वातावरण नभएका कारण सेवा बन्द गर्नु परेको बताए । उनले नगरपालिकाको कार्यालयमा भएको घटनामा संलग्न व्यक्तिलाई कारबाही गर्न समेत माग गरेका छन् । कर्मचारीको मनोबल खस्किएको र आत्मसम्मानमा ठेस पुगेका कारण सेवा बन्द गरिएको मिश्रले बताए ।
पचरौता नगरपालिकाका वडाध्यक्ष लक्ष्मी यादवले घटनामा संलग्न व्यक्तिलाई कारवाही गर्नुपर्ने प्रहरी सोमबार दिउँसो उल्टै नगरपालिकाको कार्यालयमा पुगेर कर्मचारीलाई अनावश्यक सोधपुछ र धम्क्याउने काम गरेपछि दैनिक प्रवाह हुने सेवा रोक्न बाध्य भएको बताएका छन् । ‘कार्यालयमा प्रवेश गरेर केही व्यक्तिले कम्प्युटर, प्रिन्टर तोडफोड गर्दा समेत प्रहरीले कारवाही गर्न चासो देखाउदैन’ वडाध्यक्ष यादवले भने ‘उल्टै प्रहरी पठाएर कर्मचारीलाई तर्साउने काम गरेको छ । यस्तो अवस्थामा काम गर्न नसक्ने निष्कर्षमा कर्मचारी पुगेपछि सेवा बन्द गरिएको हो । ’यता प्रहरीले भने पचरौता नगरपालिकाभित्र भएको घटनाको जानकारी प्रहरीलाई नभएको दाबी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक रुपेश साहले मंगलबार विज्ञप्ति जारी गरेर पचरौता नगरपालिकाभित्र भएको घटनाको जानकारी प्रहरीलाई नभएको दाबी गरेका हुन् । आफैं घटनास्थल पुगेर विवरण संकलन गरेको र घटनाबारे पत्राचारमार्फत् जानकारी गराएको विषयलाई प्रहरीले जानकारी नै नभएको विज्ञप्ति जारी गरेको हो । प्रहरीलाई पटक–पटक जानकारी गराएको र यस क्षेत्रमा रहेका प्रहरीसमेत कार्यालय आएर घटनाको जानकारी लिएको अवस्थामा सूचना लुकाउँदै प्रहरीले जानकारी छैन भन्नु गैरजिम्बेबारको पराकस्ट भएको पचरौता नगरपालिकाका नगरप्रमुख जलन्धर सिंह जैसवारले बताए । उनले भने, ‘अब प्रहरीलाई घटनाको जानकारी दिन सिधै प्रहरी प्रदान कार्यालयमै जानुपर्ने हो ? नजिक रहेका प्रहरीलाई खबर गरेपच्यात प्रहरीलाई जानकारी हुन्छ हैन, त्यहीँ नै प्रक्रिया पूरा गरेको हो।’
पटक–पटक आफैं जिल्ला प्रहरी कार्यलय बारा पुगेर प्रहरी प्रमुख प्रहरी उपरीक्षक होविन्द्र बोगटीलाई जानकारी गरएको र निवेदनसमेत दिएको भन्दै उनले प्रहरीबाट यति संवेदनशील विषयमा यस्तो जवाफ आउनु दुःखत् रहेको पचरौता नगरपालिकाका वडा नम्बर ५ का अध्यक्ष लक्ष्मी यादबले बताए । घटनाबारे प्रहरी जानकार रहेको र राजनीतिक दबावका कारण प्रहरीले घटनामा संलग्न व्यक्तिलाई कारबाही गर्न नसकेको बारा प्रहरीका एक अधिकृतले नाम उल्लेख नगर्ने सर्तमा जानकारी दिए । उनका अनुसार सरकारी सम्पति तोडफोड गर्न कसैलाई छुट नभएको र प्रहरीले त्यस्ता व्यक्तीहरुलाई कारवाही गर्न ढिलाई गर्न नहुने भए पनि प्रहरी नेतृत्वको निर्देशन कुरेर बसेको छ ।
यसबारेमा जानकारी लिन खोज्दा प्रहरी प्रमुख प्रहरी उपरीक्षक बोगटी सम्पर्कमा आउन चाहेनन् ।