काठमाडौं। म्याग्दीको मंगला गाउँपालिका हुँदै बागलुङको ताराखोला गाउँपालिकाको सिर्फुसम्म पुगेको सडकले स्तरोन्नतिमा प्राथमिकता पाएको छ ।
मंगला गाउँपालिका र गण्डकी प्रदेश सरकारले प्राथमिकता दिएर मंगलाको वडा नम्बर ३ र ४ को बरङ्जा बुकेनी, महेश, धापुङ हुँदै तारोखाला गाउँपालिकाको सिर्फुसम्मको सडकको ट्रयाक खोलेको थियो । ताराखोलाका बासिन्दालाई बागलुङको सदरमुकाम पुग्न म्याग्दीबाट छिटो र छिटो भएकाले यस सडकको स्तरोन्नतिका लागि गण्डकी प्रदेशको पूर्वाधार मन्त्रालयले आगामी आर्थिक वर्षमा दुई करोड बजेट विनियोजन गरेको वडा नम्बर ४ को वडाध्यक्ष लालबहादुर रोकाले जानकारी दिए ।
गण्डकी प्रदेश सरकार र मंगला गाउँपालिकाको सहयोगमा उपभोक्ता समितिमार्फत् म्याग्दीको मंगला–३ बरङ्जा, वडा नं ४ को महेश, धापुङ हुँदै ताराखोला गाउँपालिकाको सिर्फु सडक जोडिएको थियो । पालिका र प्रदेश सरकारको साझेदारीमा खोलिएको सडकलाई थप स्तरोन्नति गर्न पालिकाले प्रदेश र संघ सरकारलाई बजेट विनियोजनमा ध्यानाकर्षण गराएको वडाध्यक्ष रोकाले बताए ।
“यस सडकको ट्रयाक स्तरोन्नति गर्न र बुकेनी महेशसम्म पुग्ने सडकको ट्रयाक यस वर्ष खोलिएको छ । आगामी वर्षदेखि वडा कार्यालयदेखि महेश धापुङ हुँदै सिर्पु सडकको स्तरोन्नतिको अभियान सुरु हुन्छ,” उनले भने, “बहुवर्षीय योजनाको रूपमा अघि बढेका कारण यसलाई स्तरोन्नति गरेर दुई पालिकाका करिब एक हजार घरधुरीलाई प्रत्यक्ष लाभान्वित पुर्याउने छौं । आवतजावत, निर्माण सामग्री ढुवानी र कृषि उपज निकासीलगायत क्षेत्रमा सहज गराउने छौं ।” सडक निर्माण भएपछि म्याग्दीको सिंगातातोपानीबाट ताराखोला गाउँपालिकाको सिर्फु करिब दुई घन्टामै पुग्न सकिने वडाध्यक्ष रोकाले बताए ।
“ताराखोला गाउँपालिकालाई बागलुङको सदरमुकाम बागलुङ र म्याग्दीको सिंगातातोपानी डुब्न आउन छोटो र सहज हुनेछ,” उनले थपे, “यसअघि मंगलाको अर्मन–किमचौर हुँदै ताराखोला पुग्न चार घन्टा लाग्ने गरेको थियो ।” चालू आर्थिक वर्षमा प्रदेश सरकारको १० लाख र मंगला गाउँपालिकाको १४ लाखमा धापुङ हुँदै सिर्फुसँंगको मार्ग खोलिएको थियो । बुकेनी हुँदै महेश–धापुङ सडकअन्तर्गत करिब तीन सय मिटर भीरमा मार्ग खोल्न यस वर्ष प्रदेश सरकारको १० लाख र गाउँपालिकाको १० लाख थप बजेट विनियोजन भएको थियो ।
गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री रहेका म्याग्दी क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रेशमबहादुर जुग्जालीले दुई जिल्लाको बहुसंख्यक जनताको सुविधासहित आलूलगायतको व्यावसायिक सुविधाका लागि प्राथमिकतामा राखेको बताए । बेनी नगरपालिकाको बगरफाँट बास्कुना, थामडाँडा र अर्जेखोला हुँदै र बेनी दरबाङ सडकअन्तर्गत बेनी नगरको वडा नम्बरको सिंगामा यस वर्ष सम्पन्न भएको पक्की पुलमार्फत् बरङ्जा हुँदै धापुङ सडकमार्फत् ताराखोला पुग्न सकिन्छ । कारोबार दैनिकबाट